जनचेतना नेपालद्वारा वडास्तरीय क्षमता अभिबृद्धि तालिम प्रदान-Sutra News

जनचेतना नेपालद्वारा वडास्तरीय क्षमता अभिबृद्धि तालिम प्रदान

आइतबार, १ फाल्गुन २०७८

आइतबार, १ फाल्गुन २०७८

जनचेतना नेपाल र काठमाडौं महानगरपालिका वडा नं ८ को सहकार्यमा ३ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । तालिममा वडाका ३० जना महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो । विशेषगरी महिलाहरुको नेतृत्व विकास गरी उनीहरुको वडास्तरमा हुने विभिन्न कार्यक्रमहरुमा महिलाको सहभागिता र नेतृत्व बढाउन तालिमले सहयोग पुर्याउने जनचेतना नेपालका अध्यक्ष वालकृण निरौलाले विश्वास व्यक्त गरे ।



महिलाहरुको नेतृत्व विकासका लागि उनीहरुलाई विभिन्न प्रशिक्षण र जिम्मेवारी दिनु आवश्यक भएको सहभागीहरुको माग रहेको थियो । महिलाहरुको नीति निर्माण तहमा अधिकार सुनिश्चित हुनु जरुरी भएको कुरा औल्याउदै तालिम प्रभावकारी भएको वडा सदस्य इन्दिरा भण्डारीले बताईन् । जनचेतना नेपालका कविन्द्र त्रिपाठीको व्यवस्थापन र सहजीकरणमा भएको कार्यक्रममा संस्थाकी संयोजक मुना निरौला त्रिपाठीले कार्यक्रम संयोजन गरेकी थिईन् । वडाले संचालन गर्ने महिला लक्षित कार्यक्रम अन्तरगत तालिम सम्पन्न गरिएको वडा सचिव महेश्वर भुजेलले बताए ।

महिलाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित सो तालिममा उद्घघोषण र भाषण कलाको बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको कार्यक्रम व्यबस्थापक कबिन्द्र त्रिपाठिले बताए ।

तालिममा सामुदायिक रेडियो प्रसारण संघ वागमती प्रदेशका अध्यक्ष बलराम श्रेष्ठ, नेपाल टेलिभिजन प्लसका उपप्रमुख एवं कार्यक्रम निर्माता दिपक समिर आचार्य, सञ्चारकर्मी जयराम सिग्देल र नेपाल टेलिभिजनकी कार्यक्रम निर्माता÷प्रस्तोता सन्तोषी अधिकारीले प्रशिक्षण दिएका थिए ।

तालिमको अन्तिम दिन अतिथिका रुपमा उपस्थित अभिनेत्री काली सेढाईले महिलाको क्षमता विकासको लागि बोल्ने कला आवश्यक रहेको भन्दै तालिम मत्वपूर्ण भएको बताइन् ।

रमाईलो टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रहिल कार्की, हिमालयन टेलिभिजनका माधव कार्कीलगायतले आफ्नो अनुभव साटासाट गरेका थिए ।

त्यसैगरि कार्यक्रम संयोजक मुना निरौला त्रिपाठीले महिलाले अब आफ्नो क्षमता अभिवृद्धि गर्दै नेतृत्व तहमा पुग्ने अभ्यासको यो शुभारम्भ रहेको बताईन् । वडाका अन्य महिलादिदीबहिनीहरुले पनि यस्तै तालिमको माग र अपेक्षा गरेको बताईन् ।

तालिमकी प्रशिक्षक सन्तोषी अधिकारीले बोल्ने कलासंगै व्यक्तित्व र नेतृत्व क्षमताको विकास भए मात्रै महिलाले आफ्नो अधिकार खोज्न सक्ने बताइन् । प्रशिक्षकहरु बलराम श्रेष्ठ, दिपक समिर, जयराम सिग्देलले नेतृत्व विकास तालिम हरेक व्यक्तिका लागि आवश्यक रहेको औल्याउँदै तालिम ३ दिन मात्र भएपनि यो अत्यन्त महत्वपुर्ण रहेको बताए ।

सहभागिहरुले तालिमले आत्मविश्वास बढेको बताए । जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौलाको अध्यक्षतामा भएको सो कार्यक्रममा संयोजन मुना निरौला त्रिपाठी र संचालन कविन्द्र त्रिपाठीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट