गत भदौ महिनामा आएको बाढीले क्षति पुगेर बन्द भएको धौलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालन भएको छ ।
भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित केन्द्रीय प्रसारण लाइनको विद्युत् र सडक यातायात नपुगेको लुलाङको दरखोलामा आएको बाढीले विद्युत्गृह, बाँध र नहर बगाएपछि ४३ किलोवाट क्षमताको परियोजना बन्द भएको थियो ।
गण्डकी प्रदेश सरकार र धौलागिरि गाउँपालिकाको रु २२ लाख सहयोगमा परियोजना मर्मत भएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाइजाले जानकारीदिनुभयो । “गत पुस महिनादेखि सुरु भएको लघुजलविद्युत् परियोजना मर्मत गरेर आइतबार परीक्षण विद्युत् उत्पादन सफल भयो”, उनले भने, “केही दिनमै नियमित विद्युत् आपूर्ति हुन्छ ।”
परियोजना मर्मतका लागि प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिसमा पूर्वाधार विकास कार्यक्रमको रु १२ लाख र धौलागिरि गाउँपालिकाले रु दश लाख विनियोजन गरेको वडाध्यक्ष गमप्रसाद विकले बताए ।
परियोजनाको टर्वाइन, एलसी बोर्ड, रनर, अर्थिङ प्लेटलगायतका उपकरण परिवर्तन भएको छ । मुहानमा २५ मिटर कुलो निर्माण र मर्मत गरिएको छ । विद्युत्गृहको नयाँ भवन निर्माण भएको छ । नहर र विद्युत्गृहको उचाइसँगै उत्पादन क्षमता घटेर ३५ किलोवाटमा झरेको छ ।
खोलाको किनारदेखि केही माथि सुरक्षित ठाउँमा विद्युत्गृह निर्माण भएको कारण परियोजनाको उत्पादनसमेत घटेर ३५ किलोवाटमा सीमित भएको समितिले जनाएको छ । सो परियोजनाबाट उत्पादित विद्युत् लुलाङ, लमसुङ, मरेनी र खोरियाका ३५४ घरधुरीले उपभोग गर्दै आएका छन् ।