फेब्रुअरी १६ मा रुसले आक्रमण गर्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको दावी-Sutra News

फेब्रुअरी १६ मा रुसले आक्रमण गर्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको दावी

मंगलबार, ३ फाल्गुन २०७८

मंगलबार, ३ फाल्गुन २०७८

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन् । युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा भएको हो ।



जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै भनेका छन्, ‘हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ।’ उनले युक्रेनले बुधबार एकता दिवस मनाउने बताएका छन् । यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ ।

रुसले युक्रेनी सीमा नजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । सेनाको उपस्थितिले अमेरिका र नाटो सहयोगीबीच चिन्ता र तिक्तता बढाएको छ। तर रुसले निरन्तररूपमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ ।

युक्रेन, रुस र नाटो राष्ट्रहरूका अधिकारीले यस क्षेत्रमा तनाव कम गर्ने आशाका साथ पछिल्ला दिनमा कूटनीतिक छलफललाई तीव्रता दिंदै आएका छन् । तर वार्ताले कुनै सफलता भने हासिल गर्न सकेको छैन ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै रुसले युक्रेनमा आक्रमण गरेमा ‘छिटो र गम्भीर लागत’ लाग्ने बताएका थिए ।

बाइडेन प्रशासनका अधिकारीले युक्रेनमाथि ‘अब कुनै पनि दिन’ आक्रमण हुन सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट