रिलिज अगावै विदेशमा धमाधम बिक्री हुँदै ‘कबड्डी ४’-Sutra News

रिलिज अगावै विदेशमा धमाधम बिक्री हुँदै ‘कबड्डी ४’

मंगलबार, ३ फाल्गुन २०७८

मंगलबार, ३ फाल्गुन २०७८

फिल्म ‘कबड्डी ४’ को विदेश प्रदर्शन अधिकार रिलिज हुन २ महिना बढि बाँकी हुँदै बिक्री भएको छ । गत महिना टिजर रिलिज भएसँगै यो फिल्मको हाइप उँचो बनिसकेको छ । विदेशमा नेपाली फिल्म प्रदर्शनको लागि खरिद गर्नेहरु यो फिल्म आफ्नो पक्षमा पार्न जुटिरहेका छन् । फिल्म निर्माण टिमले नेपालमा आगामी बैशाख २३ लाई प्रदर्शन मिति तोकेको छ ।



यसअघि नै अमेरिका, अष्ट्रेलिया, हङकङ, कोरिया लगायतका देशको प्रदर्शन अधिकार बिक्री भईसकेको जानकारी आउँदा हालै फिल्मको जापान प्रदर्शन अधिकार पनि बिक्री भएको हो । सञ्चारकर्मी सचित खड्काले जापानमा नेपाली फिल्मको अधिकार किन्दै आएको टिमसँग सहकार्य गरेर यो फिल्मको प्रदर्शन अधिकार खरिद गरेका हुन् ।

त्यसो त कोभिड महामारी उच्च बनेर संसार नै महामारीको चपेडामा पर्दा पछिल्लो क्रममा नेपाली फिल्मको प्रदर्शन नै रोकिएको थियो । यो फिल्म रिलिज हुँदै गर्दा जापानमा पछिल्लो ३ बर्षपछि पहिलोपटक नेपाली फिल्म प्रदर्शन हुनेछ । जापानी दर्शकले ३ बर्षपछि नेपाली फिल्मको स्वाद चाख्न पाउनेछन् । यद्धपी फिल्म कहिले प्रदर्शनमा आउने भन्ने भने खुलाइएको छैन ।

जापानमा रहँदै आएका फिल्म निर्माता सुवास लामिछानेसँगको सहकार्यमा सचितले ‘कबड्डी ४’को प्रदर्शन अधिकार किनेको जानकारी दिए । फिल्मको जापान अधिकार कतिमा खरिद भयो सार्वजनिक गरिएको छैन ।

रामबाबु गुरुङको निर्देशन रहेको कबड्डी सिरिजको यो भाग नै अन्तिम रहेको निर्माण टिमले बताउँदै आएको छ । कबड्डीका यसअघि रिलिज ३ वटै शृङ्खला नेपाली बक्सअफिसमा हिट लिष्टमा छन् । विदेशका दर्शकमाझ पनि उत्तिकै लोकप्रिय बनेको यो फिल्मको फाइनल म्याचमा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, कमलमणी नेपाल लिड अभिनयमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट