मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नं. ७ मा पर्ने विकट गाउँ दरवारमा बिजुली बत्ती बल्ने निश्चित भएको छ । नेपाली काँग्रेस बकैया गाउँपालिका वडा नं.७ को अनुरोध र बकैया गाउँ समितिको पहलमा हेलिकप्टर मार्फत ट्रान्सफरमर गाउँमा पु्याइए पछि दरवारमा बत्ती बल्ने निश्चित भएको हो ।
तल्लो दरवार र माथिल्लो दरबारमा विभाजित यो गाउँमा ४७ घर धुरी वसोवास गर्दछन् । तामाङ समूदायको मात्र बसोवस रहेको यो गाउँलाई बकैयाको कार्णालीको नामले समेत चिनिन्छ । गाउँपालिका र बिद्युत प्राधिकरणको सयुक्त लगानीमा गत आर्थिक बर्षमा नै पोल र तार तान्ने कार्य सम्पन्न भएपनि सडक सुविधा नहुँदा ट्रान्सफरमर भने विगत ६ महिना देखि हर्दा गाउँमा थन्किएको थियो ।
गाउँसम्म ट्रान्सफरमर लाने कुनै पनि सम्भावना नभएपछि गाउँलेहरु बत्ती बाल्न नपाइने भयो भनेर निकै दुःखी थिए । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताबाट २ लाख बराबरको आर्थिक सहयोग व्यबस्थापन गरि हेलिकप्टर मार्फत गाउँमा ट्रान्सफरमर पुगे पछि भने उनीहरुको मुहारमा हाँसो छाएको छ । स्थानीय धनबहादुर न्यासुर मुसुक्क हाँस्दै हात जोडेर भन्छन्ः हामीलाई बत्ती, पानी, कुटानी र पिसानीका लागि घण्टौं उकाली र ओराली गर्नुपर्दा अत्यन्तै कष्ट थियो, अव भने केहि रहात हुने भयो, सहयोगीहरुलाई धेरै धन्यवाद छ ।
दरवारको जीवन भोगाइ अत्यन्त दर्दनाक छ । सामान्य आधारभूत आवश्यकताबाट समेत यहाँका बासिन्दाहरु बन्चित छन् । ग्रामिण क्षेत्रको यो वेदनालाई देखेर उनीहरुको दुः खलाई थोरै भएपनि मलहम पट्टि लगाउने कार्य गरेको वडा नं. ७ का पार्टी सभापति राजन घिमिरे बताउँछन् ।
आसन्न स्थानिय निर्वाचनको मिति घोषणा भैसकेको यो अवस्थामा एउटा पार्टीको नेतृत्वमा गरिएको यो कार्यलाई फरक मत राख्ने व्यक्तिहरुले भने चुनाबी अभियानको संकेत गरेका छन् । तर काँग्रेस बकैया सभापति दिलबहादुर भोम्जन भने यो चुनवी अभियान नभएर मानवीय दृष्टिकोणबाट गरिएको कार्य बताउँछन् ।
दरवारलाई सडक पहुँचसँग जोड्न स्थनिय र प्रदेश सरकार नलागेको भने पक्कै होइन । तर विभिन्न कानुनी उल्झनका कारण त्यो सम्भव हुन सकेन । दरवारलाई दरवार जतिकै सुविधा सम्पन्न वनाउने धोको पुरा हुन नसकेकोमा दुःख व्यक्त गर्दै गाउँपालिका अध्यक्ष दामोदर खनाल अवको केहि समयमा वत्ती वल्ने बताउँछन् ।
दरवारमा सडक पु्याउने पहिलो प्रयास स्वरुप आर्थिक बर्ष ०६७/०७७ मा प्रदेश सरकारको लगानीमा ट्रयाक खोल्ने काम सुरु भएको थियो । हर्दा माटोकोरी, चुनढुंगा हुदै खन्न सुरु गरिएको यो बाटोमा रुख बिरुवा धेरै मासिने भन्दै डिभिजन बन कार्यालय मकवानपुरले खन्न रोक लगायो ।
पञ्चकन्या समूदायिक वन क्षेत्र भित्र पर्ने यो सडक तत्काललाई रोक लगाउने मात्र नभएर बन कार्यालयले पालिका अध्यक्ष दामेदर खनाल, प्रमूख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, निर्माण व्यवसायी ईन्द्र मोक्तान र बाटो समितिका अध्यक्ष सृजना थिङलाई विपक्ष बनाएर मुद्दा समेत चलायो । तत्पश्चात दरवार सडक निर्माणमा पूण रुपमा विराम लाग्यो ।