काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गर्ने बताएका छन् ।
बिहीबार साँझ बालुवाटारमा भएको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले बैठकमा आंफुले जसरी पनि एमसीसी टेबल गर्ने बताएको एक नेताले जानकारी दिए । उनको भनाइलाई काँग्रेस महामन्त्री गगन थापाले साथ दिएका थिए ।
माओवादी र नेकपा एकीकृत समाजवादीले भने एमसीसी टेबल हुन नहुने कुरामा अडान लिएको थियो ।
तर सत्ता गठबन्धनको बैठक कुनै ठोस निष्कर्श बिनै सकिएको छ । एमसीसीका विषयमा ठोस धारणा बनाउन बसेको बैठक कुनै टुंगोमा पुग्न नसकेरै सकिएको हो ।
कुनै निष्कर्शमा पुग्न नसकेपछि बैठक शुक्रबार बिहान १० बजे पुन: बस्ने गरी सकिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो ।