

काठमाडौँ । आफूलाई अभियन्ता बताउने ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ ।
शुक्रबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरेका थिए ।
समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव फागुन ३ गतेको पदाधिकारी बैठकमा पेश गरेका थिए ।
शाही राप्रपाको पाँचौ प्रवक्ता नियुक्त भएका हुन् । राप्रपामा यसअघि मोहन श्रेष्ठ, भक्तिप्रसाद सिटौला, सगुनसुन्दर लावती र गोपाल दाहाल गरी ४ जना प्रवक्ता र अरु ३ जना सहप्रवक्तामा मनोनित भइसकेका छन् ।