हनिमून- युवापुस्तालाई दमदार सन्देश-Sutra News

हनिमून- युवापुस्तालाई दमदार सन्देश

शनिबार, ७ फाल्गुन २०७८

शनिबार, ७ फाल्गुन २०७८

फिल्म – हनिमून
निर्देशक – रामजी ज्ञवाली
कलाकार – विशाल कटुवाल, प्रतिभा केसी
अवधी – १६ मिनेट ४४ सेकेण्ड



नेपाली समाजमा महिला र पुरुषबीच ठुलो भेदभाव छ । यस्तै चलिआएको भेदभावका कारण महिला र पुरुषको मनोविज्ञान पनि धेरै कुराहरुमा फरक पाउन सकिन्छ ।

एकातिर महिला आँफै प्राकृतिक रुपले नै कमजोर हुन्छन् भन्ने गरिन्छ । अर्को तिर पुरुष प्रधान देश नेपालमा महिलाभन्दा पुरुषको दवदवा बढी देखिन्छ । महिला र पुरुषको यही यथार्थ मनोविज्ञान र व्यवहारलाई जस्ताको तस्तै चित्रण गरेको फिल्म हो ‘हनिमून’ । सर्ट फिल्म भएपनि यसले ठुलो चलचित्रको जस्तै दर्शकलाई खुराक दिन सफल छ ।

फिल्ममा नव बिबाहित पुरुषको भूमिका विशाल कटुवालले निभाएका छन् भने बेहुलीको भूमिकामा प्रतिभा केसी रहेकी छन् ।
फिल्ममा श्रीमान श्रीमतीको भूमिकामा रहेका उनीहरुको मागी विवाह हो । युवतिले नचाहेर, युवाले चाहेर भएको बिहे । फिल्ममा श्रीमानलाई धनी र हुनेखाने पात्रको रुपमा चित्रण गरिएको छ । धनसम्पत्तिको लोभमा ती केटासँग केटीका बाबुआमाले जवरजस्ती विवाह गरिदिन्छन् । उनीहरु विवाहपछिको मधुमास अर्थात ‘हनिमून’ मनाउन घरबाट टाढा जान्छन् ।

मधुमासको रात । दुवैबीच प्रेमिल व्यवहार हुन्छ । कुराकानी पनि रोमान्टिक तरिकाले अघि बढिरहेको छ । दुवै जना वाइनको ग्लास लिएर नशालु हेराईसँगै एक अर्कामा समर्पित हुदै जान्छन् ।
बेहुलाले अचेल आफू जस्तो केटा पाउनु आफ्नो श्रीमतीका लागि ठूलो भाग्यको कुरा भएको दावी गर्छ । बिस्तारै एउटा कारणले बिषय भर्जिनिटीसम्म पुग्छ ।
केटाले आफु भर्जिन नै भएको सन्देश दिन खोजेको फिल्ममा देखिन्छ । यस्तै कुराकानी गर्दै अंकमाल गरिरहेका बेला बेहुलीको मोबाइलमा म्यासेजको घन्टी बज्छ । बेहुलीको मोबाइलमा आएको म्यासेज बेहुलाले हेर्छ । त्यो मेसेज बेहुलीको पूर्वप्रेमीको हुन्छ । अवस्था एकाएक आकाशमा चट्याङ परेजस्तो हुन्छ ।

बेहुलाले अंगालोमा रहेकी बेहुलीलाई टाढा हुत्याएर म्यासेज पठाउने व्यक्तिसँगको सम्वन्धका बारेमा केरकार गर्छ । बेहुलीले त्यो व्यक्ति आफ्नो पुर्वप्रेमी भएपनि अहिले उसलाई भूलीसकेको जवाफ इमान्दारितापूर्वक दिन्छीन । तर बेहुलालाई त्यो कुराले झन असह्य बनाउछ । अर्कैको पूर्व प्रेमीकालाई आफुले श्रीमती बनाउनु परेकोमा उसले आफुलाई घोर अभागी ठान्छ ।
आफ्नी श्रीमतीलाई उसले यसअघि कसैसँग यौन सम्पर्क राखेको वा नराखेको बारेमा कसम खाएर साँचो जवाफ दिन लगाउछ । श्रीमतीले त्यही प्रश्न श्रीमानलाई सोध्छिन, “तपाई भर्जिन हुनुहुन्छ त ?”
श्रीमतीले आफु पनि भर्जिन नभएको र आफ्नो श्रीमान पनि भर्जिन नभएको कुरा आफुले धेरैतरिबाट पत्ता लगाएको खुलासा गर्छिन । श्रीमतीको दावीलाई श्रीमानले अस्विकार गर्न पनि सक्दैन र श्रीमती भर्जिन नुहुनलाई सहज रुपले लिन पनि सक्दैन ।

भर्जिन भएको वा नभएको बारेमा केही समय दुवैका बीचमा भनाभन चल्छ । श्रीमतीले गल्ती सबैले गर्छन्, पास्ट सबैको हुन्छ, एकले अर्कालाई स्वीकार्न सक्नुपर्छ भनेर श्रीमानलाई संझाउन निकै प्रयास गर्छिन् । श्रीमानले आफू धनाड्य परिवारको भएकाले त्यस्तो स्वीकार्न नसक्ने व्यवहार दखाउँछन् । सानो बिषय चर्किदै जादा भएको परिणाम अझै सकिन्न ।

एकछिन ति युवती बाहिर निस्कन मान्दिनन् । विवाद थप चर्किदै गएपछि श्रीमानले श्रीमतीलाई कोठाबाट बाहिर निकाल्छ । रिसले चुर भएको श्रीमानले फेरी एक कप वाइन पिएर त्यही कप भुइँमा बझार्दै कठोरतापूर्वक रिस पोख्छ ।
कोठाबाट बाहिर निकालिएकी श्रीमती सिंढीमा विक्षिप्त अवस्थामा रहेकी हुन्छीन भने कोठामा श्रीमान मुर्मुरिइरहेको हुन्छ । टाउको समात्दै, छटपटिदै केही समय सोँचीरहेको बेला एउटा मिठो गित बज्छ —

तिम्रो आफ्नै विगत थियो,
मेरो पनि आफ्नै ।
मिल्छ भने बाँकी जीवन,
विताउँ हामी साथमै,
महसुस गरेँ मैले म देखि नै गल्ती भयो …………….

विगत सवैकोे आ आफ्नै हुने भएकाले त्यसलाई लिएर अहिले विवाद गर्नु व्यर्थ हुन्छ, यसरी अहिलेको जमानामा संभव छैन, त्यसैले मैले विगत कोट्याएर, विगतलाई अस्विकार गरेर गल्ती गरेँ भन्ने भावना केटामा आउँछ । गित बजिरहेकै बेला श्रीमान् बाहिर जान्छ र विक्षिप्त अवस्थामा रहेकी आफ्नी श्रीमतीलाई फकाउन थाल्छ ।

सुरुमा श्रीमतीले पत्याउदिनन्, मान्दिनन् । तर श्रमानले आफ्नो तर्फबाट गल्ती भएको भन्दै पटक पटक माफी मागेपछि श्रीमती पनि विगतलाई भूलेर बाँकी जीवनसँग सगै विताउन तयार हुन्छिन । फेरि एकले अर्कालाई अंगालोमा कस्छन । एकाएक ताली बज्ने वातावरण बन्छ । मिठो सन्देश छोटो समयमा दिन सफल हुन्छ ‘हनिमुल’ फिल्म ।

यसअघि झण्डै एक दर्जन लघु चलचित्र बनाइसकेका रामजी ज्ञवालीको निर्देशनमा बनेको हनिमूनले अहिलेका हरेक युवा युवतीका लागि मननयोग्य र व्यावहारिक सन्देश बोकेको छ ।
फिल्मले दर्शकलाई आफ्नो सन्देशमा सजिलै सहमत गराउने तागत राखेको छ । फिल्ममा कलाकारहरुको अभिनय औषत छ । यो फिल्म निर्देशक ज्ञवालीले आफ्नै जन्मदिनको अवसर पारेर यही फागुन ५ गते राम्रो इन्टरटेनमेन्टको युट्युव च्यालनमार्फत सार्वजनिक गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट