एमसीसी अस्वीकार गर्न माग गर्दै सडक आन्दोलनमा रहेका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई सरकारले बल प्रयोग गरेर घाइते बनाएको भन्दै नेपाल स्काउट, मानवअधिकार अभियान, अर्गनाइजेसन अफ वर्ल्ड पिस लगायतका संघसंस्थाहरुले ध्यानाकर्षण गराएका छन् ।
अर्गनाईजेशन अफ वल्र्ड पिस नेपालका संयोजक सुधन मरासिनी, नेपाल शान्ति स्काउटका प्रमुख दयाराम कार्की, मानव अधिकार अभियान नेपालका संयोजक हुकुम पोखरेल,मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपालका महासचिव मिना शर्मा,एन एच सि नेपालका पुर्व अध्यक्ष कोपिला कुँवरले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै शान्तिपूर्णरुपमा आन्दोलन तथा प्रदर्शन गर्न पाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘एमसीसी सम्झौताको विरोधमा नागरिक अभियान्ता, राजनैतिक दल तथा नागरिक समाजहरुद्धारा काठमाण्डौमा भइरहेको विरोध प्रर्दशनका क्रममा प्रहरीबाट धरपकड तथा बल प्रयोग गरी केही नागरिक अभियन्ताहरु घाईते समेत बनाईएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘ संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा २०, नागरिक तथा राजनितिक अधिकार सम्बन्धि अन्तराष्ट्रिय महासन्धि, १९६६ को धारा २१, र नेपालको संविधानको धारा १७ ले विना हातहतियार शान्तिपुर्वक भेला हुने तथा विचार तथा अभिव्यक्ति राख्न पाउने स्वतन्त्रताको सुनिश्चितता गरेको छ ।’
केही दिनअगाडी काठमाडौँको बानेश्वरमा एमसीसी विरुद्ध भएको प्रदर्शनमा प्रहरीले रबर बम साथै पानीका फोहरा प्रयोग गरेको थियो । उक्त प्रदर्शनमा नेता कार्यकर्ता तथा विभिन्न संघसंस्थाहरुका नागरिकहरु घाइते भएका थिए ।