‘पानीफोटो’को प्रदर्शन मिति तोकियोः आगामी भदौ १० गते रिलिज गरिने-Sutra News

‘पानीफोटो’को प्रदर्शन मिति तोकियोः आगामी भदौ १० गते रिलिज गरिने

सोमबार, १६ फाल्गुन २०७८

सोमबार, १६ फाल्गुन २०७८

अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने फिल्म ‘पानीफोटो’ ले रिलिज मिती तय गरेको छ । टलकजंग भर्सेस टुल्के मार्फत फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद, धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफुलाई ‘भर्सटायल अभिनेता’ को रुपमा परिचित गराईसकेका छन् । उनि फिल्म ‘पानीफोटो’ बाट निर्देशनमा होमिएका हुन् । कोरोना भाइरसको महामारीका कारण रिलिज डेटमा केहि समय ढिलाई भएको ’पानीफोटो’ आउँदो वर्ष विक्रम संवत २०७९ सालको भद्र १० अर्थात सन् २०२२ अगस्ट २६ मा प्रदर्शनमा आउने भएको छ । वितरक तथा प्रदर्शकहरुको छलफल पश्चात फिल्म युनिटले भाद्र १० गतेलाई डेट तय गरेका हुन् ।



स्वयम् खगेन्द्रले आफु लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन् । उनले फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा–आमाको कथालाई दर्शक माँझ लिएर आउन लागेका हुन् । यो दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो । फिल्ममा खगेन्द्रसंगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको छायांकन काठमान्डौसँगै वर्दिया , रोल्पा र स्याङ्गजामा गरिएको छ । खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताए । ‘यसलाई फिल्म बनाएर धेरै दर्शकसम्म यो कथालाई पुर्याउने मेरो सपना नै थियो । मैले नाटक मन्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए’ खगेन्द्रले भने । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ । यसमा पुष्पा संगमको पाश्र्व संगीत रहेको छ । ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले यसफिल्म निर्माणमा मन्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् । फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट