काठमाडौँ । कलाकार पल शाहमाथि बलात्कार आरोप लगाउने किशोरीको बारेमा सामाजिक सञ्जालमा विभिन्न खालका कमेन्टहरु आइरहेका छन् । कसैले उनको बारेमा सकारात्मक लेखेका छन् भने नकारात्मक लेख्नेको पनि खासै कमी छैन ।
नेपालका अभिनेत्रीद्वय रेखा थापा र ऋचा शर्माले उनीहरुको विषयमा टिप्पणी गरेका छन् ।
रेखा थापाले सामाजीक संजालमा लेख्दै समिक्षा अधिकारीमाथि आक्रमण भएको भन्दै असन्तुष्टि जनाएकी छन् ।
के लेखेकी छन् उनले ?
‘२० वर्ष मुनिका छोरीहरु बालिका हुन्। बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्छन्। समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो। कोसँग लभ छ, कति पटक यौन सम्पर्क भयो भन्नेजस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन। समाजको आडम्बरको त कुरा गरी साध्य छैन। केटी मान्छे भने पछि दुनियाँ भरी कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त छ।’
ऋचाले के लेखिन् ?
‘मुलुकी अपराध संहिताले भन्छ’ १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो।’ कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि त हौनी। हैन र ? १८ वर्ष मुनिकाको सहमतिमै यौन सम्बन्ध भए पनि बलात्कार ठहरिनुको कानुनी ब्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै। अनी नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रवन्ध गरिएको हो। यति बुझौँ नाबालिगकै करमा पनि कसैले यौन सम्बन्ध राख्यो भने त्यो बलात्कार हो। उसैले बोलाएको भनेर कानुनले छुट दिन्न !!
मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले। नाबालिगको संरक्षण, कानुनको सम्मान हो।’