

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पाार्टीका महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । एमसीसी संशोधनविना अनुमोदन गर्न नहुने बताउँदै आएका श्रेष्ठ र एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवबीच एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको चौथो दिनमा भेटवार्ता भएको हो ।
नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका थिए । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
एमसीसीको विषयलाई पछिल्लो राजनीतिक अवस्थाबारे दुवै नेताबीच कुराकानी भएको चन्द निकट एक नेताले जानकारी दिए । उनका अनुसार श्रेष्ठले एमसीसीमा नेतृत्वले धोका दिएको र असहमतिबीच माओवादीमा बस्न गाह्रो रहेको बताए ।
स्रोतका अनुसार आगामी दिनमा सहकार्य गर्नेबारे पनि नेताद्वयबीच कुराकानी भएको छ । विप्लवले क्रान्तिकारी कम्युनिष्टबीच धुव्रीकरण हुनुपर्ने धारणा राखेका थिए ।
नेता श्रेष्ठले असन्तुष्टि सार्वजनिकरूपमै पोख्न थालेपछि माओवादी अध्यक्ष प्रचण्डले मंगलबार निवासमै पुगेर भेटेका थिए । माओवादी अध्यक्ष प्रचण्डले असन्तुष्टि बाहिर छताछुल्न नपार्न आग्रह गर्दै आएका छन् ।