बारम्बार संकटमा गठबन्धन, फेरि चुनावकै कारण भत्कने डर-Sutra News

बारम्बार संकटमा गठबन्धन, फेरि चुनावकै कारण भत्कने डर

शुक्रबार, २७ फाल्गुन २०७८

शुक्रबार, २७ फाल्गुन २०७८

काठमाडौं-  स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरु चुनावी रणनीति बनाउन थालेका छन् । सत्तागठबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी पनि आआफ्नो तरिकाले निर्वाचन अभियानको लागि तयारी गरिरहेका छन् ।



यसैबीच बारम्बार बच्दै आएको सत्ता गठबन्धनतर्फ धेरैको ध्यान गएको छ । गठबन्धन दलका प्रमुख नेताहरुबीच आगामी चुनावमा मिलेर जाने कुरा भइरहे पनि सहमती भने हुन सकिरहेको छैन । कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई आगामी चुनावमा मिलेर जानुपर्ने कुरा गर्दै आएका छन् ।

तर कांग्रेसकै शेखर कोइराला पक्षका गगन थापा लगायतका नेताहरु भने आउँदो चुनावमा कांग्रेस एक्लै लड्ने बताउदै आइरहेका छन् । कांग्रेसले फागुन २९ देखि स्थानीय तह निर्वाचन अभियान सुरु गर्दैछ । एक महिना चल्ने अभियानपछि मात्र कांग्रेसले गठबन्धनबारे औपचारिक निर्णय गर्ने तयारी गरेको बताइएको छ ।

नेताहरुबीच चुनावको बारेमा गठबन्धन हुने नहुने बारेमा फरक फरक धारणा आइरहँदा गठबन्धनको गाँठो खस्कन्छ की भन्ने फेरि आशंका उब्जिएको छ ।

घर घर पुग्ने अभियान चलाउने बताएको कांग्रेसले नेकपाकालीन सरकारको भण्डाफोर अभियान चलाउने पनि जनाएको छ । कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेस हात्ती भएको र हात्तीको ठूलो कानमा चमेरोहरू माओवादी र एकीकृत समाजवादी ओत लाग्न आएको समेत बताए ।

कांग्रेसका नेताहरुले बारम्बार चुनाव एक्लै लड्ने अभिव्यक्ति दिएपछि माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसका नेताहरुलाई कटाक्ष पनि गरेका छन् । माओवादी एक्लै चुनाव लड्न सक्ने हैसियतको पार्टी भएको भन्दै प्रचण्डले आफूहरुले नै काँग्रेसलाई बोकेर सिंहासनमा पुर्‍याइदिएको बताए । कांग्रेसको प्रत्यक्षतर्फ आफूहरुकोभन्दा १० सिट मात्र कम भएको भन्दै प्रचण्डले माओवादी एक्लै चुनावमा जान सक्ने बताए । त्यति मात्र होइन उनले आफूहरुलाई गरिएको अपमान नसहने पनि बताए ।

नेताहरुबीच चुनावको बारेमा गठबन्धन हुने नहुने बारेमा फरक फरक धारणा आइरहँदा गठबन्धनको गाँठो खस्कन्छ की भन्ने फेरि आशंका उब्जिएको छ ।

यसअघि पनि अमेरिकी सहयोग परियोजना एमसीसीकै कारण गठबन्धन संकटमा परेको थियो । एमसीसी पारित गर्न नहुने सोचमा पुगेका प्रचण्ड र माधवले गठबन्धन टुट्ने डरले अन्तिमसमयमा आएर देउवासँग सहमती गर्न पुगे । एमसीसी संसदबाट पारित गर्न नहुने भन्दै आफ्ना कार्यकर्तालाई सडकमा उतारेका प्रचण्डले अन्तिम अवस्थामा एमसीसीको व्याख्यात्मक घोषणा गरि पारित गर्न सक्ने सहमतीमा पुगे । एमसीसी पारित भएपछि पनि सडकमा उत्रेका नेताहरु अझै प्रचण्डसँग रुष्ट छन् । उनीहरु एमसीसीको व्याख्यात्मक घोषणा जनतालाई झुक्काउने काम भएको भन्ने गरेका छन् ।

चुनाव मिती वैशाख ३० गते नजिकिँदै गर्दा अहिले नेताहरुबीचको आरोप प्रत्यारोप जारी नै छ । चुनावकै कारण गठबन्धनबीचको सम्बन्धनमा समस्या बढ्दै जाने सम्भावना पनि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट