काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले एमसीसीको भ्रम छर्दै विभिन्न माध्यममार्फत कांग्रेसमाथि नियोजित आक्रमण भइरहेको बताएका छन् । पोखरामा एक भेटघाटका क्रममा नेता शिवाकोटीले एमसीसीका सम्बन्धमा पार्टीले भ्रम चिर्ने प्रयास अर्न्तगत घरदैलो अभियान शुरु गरेको बताए ।
भ्रम छर्नेहरुले जहाँ जे भन्दा सजिलो हुन्छ त्यसैगरि बोल्दै हिंडेको भन्दै यस्ता भ्रम चिर्न पार्टीले तल्ला तहमार्फत घरघरमै बहस पुर्याउन आवश्यक रहेको उल्लेख गरे ।
उनले भने, ‘कपाल काट्ने नाइलाई अब अमेरिकी सेना आएर तिमीहरुलाई लखेट्छन् भन्ने भ्रम छरे । महिलालाई अमेरिकी सेनाले बलात्कार गर्छन्, उनीहरुलाई कानून लाग्दैन भन्ने भ्रम छरियो । समाजमा छरपष्ट रहेका यस्ता भ्रमलाई चिर्न कांग्रेस मैदानमा उत्रिएको छ ।’
नेपाल प्रेस युनियनको महाधिवेशन मिति तोकिइसकेको भन्दै पूर्व महासचिवसमेत रहेका शिवाकोटीले महाधिवेशन सफल र तोकिएकै समयमा सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
मुलुकमा प्रेसको भूमिका निकै बढेको भन्दै नेता शिवाकोटीले पत्रकारको वृत्ति विकासमा नेपाली कांग्रेसले पनि सघाउनुपर्ने बताए ।
प्रेस युनियन र नेपाली कांग्रेस पार्टीलाई संगसंगै हिंडाउन आवश्यक रहेको उल्लेख गर्दै शिवाकोटीले पार्टीले युनियनलाई बुद्धिजीविको भूमिकामा राखेकोले युनियनले पनि सोही ढंगको भूमिका खेल्नुपर्ने खाँचो औंल्याए ।
पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप हुन थालेको भन्दै उनले यसतर्फ पार्टीले आवाज उठाउन आवश्यक रहेको बताए । प्रकाश सपूतको पछिल्लो गीतमा भएका आक्रोशप्रति संकेत गर्दै नेता शिवाकोटीले अभिव्यक्ति स्वतन्त्रताप्रति नांगो हस्तक्षेप भइरहेको भन्दै यस्ता विषयमा पार्टी चुप लागेर बस्न नहुने उल्लेख गरे ।
उनले भने, ‘हिजोका दिनमा पशुपति शर्माको लुट्न सके लुट गीतलाई युट्युबबाट हटाउन केपी ओलीका कार्यकर्ताले बाध्य पारेका थिए आज अर्को कम्युनिष्ट घटक एकिकृत माओवादी पनि अभिव्यक्ति स्वतन्त्रता र कला सिर्जनामा प्रतिबन्ध लगाउन प्रयास गरिरहेको छ । यस्तो कार्यमा आम नागरिकसँगै राजनीतिक दलहरू चुप लागेर बस्न मिल्दैन ।’
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले प्रेस जगत बलियो भएमात्रै प्रजातन्त्र बलियो हुने भन्दै पार्टीले प्रेसलाई नजरअन्दाज गर्न नसक्ने बताए । पार्टीले प्रेसप्रति धेरै विश्वास र भरोसा गरेको उल्लेख गर्दै सभापति बरालले कास्की कांग्रेसले मिडिया सेन्टर स्थापना गर्न लागेको जानकारी गराए ।
प्रेस युनियन कमजोर भए कांग्रेस पनि कमजोर हुने भन्दै उनले आगामी दिनमा युनियनसंग सहकार्य गरेर अघि बढ्ने बताए ।
उक्त अवसरमा कास्की कांग्रेसका सचिव भानु ढकाल, सहसचिवद्वय नवीन सिग्देल, शंकर ढुंगाना, नेता गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमल्सिना, पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, महासंघका पूर्व उपाध्यक्ष राजबहादुर गुरुङ, युनियन कास्कीका पूर्व अध्यक्ष शिरोमणि बराल, युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल र टंक अधिकारी, पत्रकार वासुदेव मिश्र, कमल पौडेल अथक लगायतले बोलेका थिए ।