अभिनेता राजेश हमाल नवलपरासी पुर्वको देवचुली नगरपालिका(१७ स्थित नारायणी नदी किनारको सरसफाइमा सहभागी भएका छन् । नदी किनारा सफाइ गर्दै उनले सबैलाई सहभागी हुन् आग्रह पनि गरे ।
हमालले स्थानीय संस्था, व्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाइमा सक्रिय हुन आग्रह गरे । उनको आग्रहपछि नदी किनार सरसफाइ कार्यक्रममा अभिनेता हमालसहित स्थानीय जुटेका थिए ।
सोमबार बिहान ७ देखि ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरेका हुन् ।
‘आज हामीले एकदिन, केहीबेर सफाइ गरेर सधैंका लागी हुने त होइन, तर सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य हो,’ अभिनेता हमालले भने, ‘यहाँ घुम्न आउने पर्यटकहरूले नै यी कुरा बुझ्नु जरुरी छ ।’
उनले झन्डै एक घन्टा आफैंले सफारी गाडी चलाएर त्यस क्षेत्रको अवलोकनसमेत गरेका थिए । केही दिन अगाडि मात्र अभिनेता हमालले काठमाडौंमा फोहोर व्यवस्थापनलगायतका काममा जनप्रतिनिधि सक्रिय नदेखिएको भन्दै ‘मेयर बन्नु पर्छ कि क्या हो ?’ भन्दै व्यंग्य गरेका थिए ।