

नेकपा माओवादी केन्द्रमा एमसीसीका कारण विवाद चुलिएर झण्डै विभाजनको सम्मुख पुगेपनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयमता अपनाएर सम्हालेका छन् । एमसीसी पास भएपछि नेता नारायणकाजी श्रेष्ठ समुहले चरम असन्तुष्टि जनाउँदै पार्टी विभाजन गर्नेसम्मको तयारी गरेपनि प्रचण्डले त्यसलाई सम्हाल्न सफल भएका हुन् ।
पार्टीलाई गुटबन्दी र विभाजन हुनबाट बचाउन प्रचण्डले नारायणकाजी सँगसँगै लिए हिड्न थालेका छन् । त्यसको पछिल्लो उदाहरण आज (मंगलबार) मधेस प्रदेशको राजधानी जनकपुर प्रचण्डले नरायणकाजीलाई सँगै लिएर जाँदैछन् । चुनाव केन्द्रित प्रशिक्षण दिन र अगुवा कार्यकर्तासँगको भेटघाटका लागि उनी जनकपुर जाने प्रचण्डको सचिवालयले जनाएको छ ।
यसअघि पनि थुप्रै कार्यक्रममा प्रचण्डले नारायणकाजीलाई सँगै लिएर गइसकेका छन् । चुनाव केन्द्रित प्रशिक्षण र अगुवा कार्यकर्तासँगको भेटघाट भन्दै प्रचण्डले नारायणकाजीलाई संगसंगै लिएर हिड्न थालेपछि पार्टी भित्रै नयाँ सन्देस गएको माओवादी नेताहरुले बताउन थालेका छन् ।
प्रचण्ड र नारायणकाजी संगसंगै हुने आजको कार्यक्रममा जनकपुरको तिरहुत्तियामा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता, कार्यकर्तालाई स्वागत गरिने बताइएको छ । प्रचण्डले मधेस प्रदेशका नेता, कार्यकर्तालाई बेग्लाबेग्लै भेट्ने कार्यक्रमसमेत रहेको केन्द्रीय सदस्य प्रकाश पोखरेलले जानकारी दिए ।
मधेस प्रदेशका विभिन्न जिल्लाबाट सहभागी अगुवा नेता, कार्यकर्तालाई अध्यक्ष प्रचण्ड र उनको साथमा आउने नेता नारायणकाजी श्रेष्ठले प्रशिक्षण दिने कार्यक्रम छ ।