

नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीले केन्द्रीय स्तरबाट अन्य दलसँग गठबन्धन नगर्ने बताएका छन् । उनले आवश्यकताका आधारमा तल्लो तहका कमिटिको सिफारिसमा जिल्ला कमिटिले गठबन्धन गर्न सक्ने विकल्प खुल्ला राखिएको बताएका हुन् ।
शुक्रबार धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले भर्खरै सम्पन्न केन्द्रीय कमिटिको बैठकले समेत स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा कुनै निर्णय नलिएको र केन्द्रीय स्तरबाट गठबन्धनको घोषणा नहुने स्पष्ट पारे ।
भट्टराईले भने– ‘पार्टीले केन्द्रबाट स्थानीय तहको निर्वाचनमा गठबन्धन वा कुनै तालमेल घोषणा गर्दैन् । यदी आवश्कयता परेमा स्थानीय आवश्यकताका आधारमा तल्लो कमिटिको सिफारिसमा सम्बन्धित जिल्ला कमिटिले तालमेल गर्न सक्छ ।’
उनले अगामी निर्वाचनमा मुख्यगरी नेकपा एमाले र नेपाली काँग्रेसकाबीचमा प्रतिस्पर्धा हुने बताउँदै मुलुक विस्तारै बहुदलीय प्रणालीबाट दुई पार्टीबीचको प्रतिस्पर्धामा गइरहेको उल्लेख गरे ।
भट्टराइले अघिल्लो पटक देशका ४५ प्रतिशत स्थानीय तहमा नेकपा एमालेले विजयी हासिल गरेकोमा बैशाख ३० गते हुने निर्वाचनमा भने ६० प्रतिशत भन्दा बढि पालिकामा जित्ने दाबी समेत गरेका छन् ।
गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन नगर्न अनेक खालका दाउपेच गरेको भएपनि नेकपा एमाले, बुद्धिजिवी, पत्रकार र आम नागरिकको दबाबका कारण मिति घोषणा गर्न बाध्य भएको भट्टराइको दाबी थियो ।