युद्धको चरण सकिएको घोषणा- के रसिया असफल भएको हो ?-Sutra News

युद्धको चरण सकिएको घोषणा- के रसिया असफल भएको हो ?

शनिबार, १२ चैत्र २०७८

शनिबार, १२ चैत्र २०७८

एक महिनाअघि युक्रेनमा आक्रमण गरेको रुसले आफ्नो रणनीतिमा परिवर्तन गर्ने सङ्केत दिँदै अब पूर्वी क्षेत्रलाई “मुक्त” बनाउन केन्द्रित हुने घोषणा गरेको छ।



रुसको रक्षा मन्त्रालयले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको दाबी गरेको छ।

रुसको आक्रमण युक्रेनका केही सहरहरू कब्जा गर्ने र युक्रेनको सरकार ढाल्न लक्षित भएको देखिएको छ। तर युक्रेनको बलियो प्रतिवादका कारण रुस अघि बढ्न सकिरहेको छैन।

“हाम्रो कारबाहीको पहिलो चरणको मुख्य काम पूरा भएको छ,” रुसका वरिष्ठ सैन्य अधिकारी सर्गेई रुद्स्कोईले भने।

“युक्रेनी सशस्त्र फौजको युद्धक्षमता ठोस रूपमै कमजोर भएको छ जसले अब हामीलाई मुख्य लक्ष्य हासिल गर्न केन्द्रित हुन सहयोग पुग्छ। त्यो भनेको डोन्बासलाई मुक्त गर्नु हो।”

उनका अनुसार अब रुसी सैनिकहरूले डोन्बासको पूर्ण मुक्तिका लागि ध्यान केन्द्रित गर्नेछन्।

पूर्वी युक्रेनको डोन्बास रुसले समर्थन गरेका पृथक्तावादीहरूको बाहुल्य रहेको क्षेत्र हो। रुसी सेनाले किएभमा पनि बमबारी जारी राख्दै राजधानी सहरलाई घेराबन्दी गरिरहेका छन्।

रुसी सैन्य अधिकारी रुद्स्कोईले युक्रेनी सेनालाई अन्यत्र अल्झाएर रुस पूर्वमा केन्द्रित भइरहेको बताए।

रुस असफल भएको दाबी

पश्चिमा अधिकारीहरूले रुसको यो घोषणा मस्कोको रणनीति असफल भएको सङ्केत भएको दाबी गरेका छन्।

रुस र युक्रेनबीच जारी युद्धका बेला युरोप भ्रमणमा निस्किएका अमेरिकी राष्ट्रपति जो बाइडन भ्रमण बिट मार्ने क्रममा युक्रेनको छिमेकी देश पोल्यान्डमा छन्।

युक्रेनमा रुसी आक्रमणको उद्देश्य अझै स्पष्ट नभए पनि रुसी राष्ट्रपति पुटिनले युक्रेनको निरस्त्रीकरणमा जोड दिँदै आएका छन्। उनले युक्रेनमा रुसीभाषीको नरसंहार भएको दाबी गर्दै त्यहाँको सरकारलाई नवनाजी भएको आरोप लगाएका छन्।

उनको दाबीको कुनै आधार खुलेको छैन भने युक्रेन र पश्चिमा देशहरूले रुसको आरोप युद्धका लागि वाहना मात्रै भएको जिकिर गरेका छन्।

बीबीसी संवाददाता पोल एडम्सका अनुसार पूर्वी युक्रेनमा केन्द्रित हुने रुसी घोषणाका आधारमा मस्कोले किएभमा नियन्त्रणमा लिने उद्देश्य छोडिसकेको निष्कर्ष निकाल्नु हतार हुन्छ।

तर पश्चिमा अधिकारीहरूले रुसले एकपछि अर्को असफलता बेहोर्नुपरेको छ।

पोलका अनुसार पश्चिमा अधिकारीहरूले रुद्स्कोईको घोषणालाई मस्कोको युद्धपूर्वको महत्त्वाङ्क्षी रणनीति असफल भएको बुझेका छन्।

धेरै मोर्चामा एकैपटक सैन्य अभियान सञ्चालन गर्न नसकिने रुसले बुझ्न थालेको एक अधिकारीले बताए। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट