नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् । सो क्रममा उनले बहुउदेश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी गरे । यस टावरमा होटल, रेस्टुरेन्ट, कफी सप, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, स्वीमिङ पुल तथा दृश्यावलोकनको समेत व्यवस्था मिलाइको छ ।
टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले भ्यु टावरबाट नगरवासीले अत्यधिक लाभ लिनुपर्ने बताए । उनको दावी थियो, ‘भ्यू टावर निर्माणपछि नयाँ सोच र विचार सिर्जना भएको छ ।’ उनले यसको डिजाइन र निर्माण पनि नयाँ रहेको बताए । उनले भने, ‘यसकारण म यस कार्यको प्रशंसा गर्छु । यसले यो क्षेत्रको विकासमा सहयोग पुगोस् ।’
यस्ता खालका नयाँनयाँ कार्यहरू विस्तार भइराख्नुपर्ने उनको भनाइ छ । ‘अरु यस्ता नयाँनयाँ कार्यहरू, नयाँ कार्य भन्नाले भ्यु टावर नै बनाउँदै जाउँ भन्ने होइन् । आवश्यकताअनुसार भ्यु टावर होस्, युनिभर्सिटी होस्, मेडिकल कलेज होस् । विकासलाई जसरी तपाईहरू लाग्नु भएको छ यो अत्यन्तै खुशीको कुरा हो,’ ओलीले भने ।