युक्रेन युद्ध: भारतले किन रुससँग धेरै कच्चा तेल किनिरहेको छ ?-Sutra News

युक्रेन युद्ध: भारतले किन रुससँग धेरै कच्चा तेल किनिरहेको छ ?

मंगलबार, १५ चैत्र २०७८

मंगलबार, १५ चैत्र २०७८

पश्चिमा राष्ट्रहरूले प्रतिबन्ध कडा पार्दै लगेको बेला रुसले तेल निर्यात गर्न नयाँ बजार खोजिरहेको छ। अनि भारतले रुसबाट आयातको परिमाण बढाउन मूल्यमा छुट दिइएको मौकाको फाइदा उठाइरहेको छ।



संयुक्त राज्य अमेरिकाका अनुसार त्यस किसिमको आयातले प्रतिबन्ध उल्लङ्घन नभए पनि “रुसलाई सहयोग… विनाशकारी प्रभाव पार्ने अतिक्रमणलाई सहयोग हो” भनेको छ।

भारतमा कहाँबाट आउँछ तेल?

अमेरिका र चीनपछि भारतमा अत्यधिक तेल इन्धन खपत हुन्छ। भारतमा खपत हुनेमध्ये ८०% तेल आयातित हो।

सन् २०२१ मा भारतले रुसबाट १.२ करोड ब्यारल तेल किनेको थियो। अर्थात् आफ्नो कुल आयातको केवल २%।

गत वर्ष भारतले मध्यपूर्वबाट अत्यधिक मात्रामा तथा संयुक्त राष्ट्र अमेरिका र नाइजिरियाबाट उल्लेख्य परिमाणमा तेल आयात गरेको स्पष्ट छ।

ज्यानुअरी र फेब्रुअरीमा भारतले रुसबाट तेल आयात गरेन।

यद्यपि उपभोग्य सामग्रीबारे अनुसन्धान गर्ने समूह केप्लरका अनुसार मार्च र एप्रिल महिनाका लागि ६० लाख ब्यारलसम्मको सम्झौता भइसकेको छ।

भारत सरकारका अनुसार रुसबाट अझ बढी तेल किनिए पनि विश्वभरिबाट आयात गर्ने इन्धनको तुलनामा त्यो “ठूलो भाँडोमा एउटा थोपा” मात्र हुनेछ।

भारतले कति मूल्यमा तेल पाएको छ?

युक्रेनमा रुसले आक्रमण गरेपछि रुसको युरल्स कच्चा तेल किन्ने देश थोरै छन् र त्यसको मूल्य पनि घटेको छ।

“हामीलाई भारतले ठ्याक्क तिरिरहेको मूल्य थाहा नभए पनि गत साता ब्रेन्ट क्रूड [वैश्विक मानक] को तुलनामा युरलमा पाएको छुट प्रतिब्यारल झन्डै ३० डलरले बढेको छ,” केप्लरसँग आबद्ध विश्लेषक म्याट स्मिथ भन्छन्।

यी दुई किसिमका कच्चा तेल प्रायः उस्तै मूल्यमा विक्री हुन्थे।

उनका अनुसार यद्यपि मार्चमा एक पटक युरलको मूल्य निरन्तर घटिरहेको बेलामा ती दुईको मूल्यमा रहेको अन्तर अहिलेसम्मकै सबैभन्दा बढी हुन पुगेको थियो।

“तसर्थ भारत र चीनले ठूलो छुटमा केही [रुसी] कच्चा तेल किन्ने सम्भावना छ,” उनी भन्छन्। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट