हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच ९ नम्बरलाई हेटौंडाको दोस्रो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो ।
योभन्दा पहिला हेटौंडा ६ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको थियो । चालु आर्थिक वर्षमा वडाका १२२ अर्थात् ९३ प्रतिशत महिलाले संस्थागत सुत्केरी गराएका थिए ।
९० प्रतिशत संस्थागत सुत्केरी भएपछि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिने प्रावधान अनुसार पूर्ण सुत्केरी वडा घोषणा गरिएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले बताए ।
सहरी स्वास्थ्य केन्द्र, लामसुरेका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हेटौंडा सिमेन्ट उद्योगका डाक्टर विनोद लामिछाने, लामसुरे सहरी स्वास्थ्य केन्द्रका प्रमुख मिना कुमारी सहित स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, पूर्व स्वास्थ्य स्वयम् सेविकाहरूलाई सम्मान गरिएको थियो ।