४० सांसदले साथ छोडेपछि राष्ट्रपति झन् सङ्कटमा-Sutra News

४० सांसदले साथ छोडेपछि राष्ट्रपति झन् सङ्कटमा

मंगलबार, २२ चैत्र २०७८

मंगलबार, २२ चैत्र २०७८

श्रीलङ्काका ४० भन्दा बढी सांसदले राष्ट्रपति गोटाबाय राजापक्षको मिलीजुली सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्।



गोटाबायको श्रीलङ्का पोडुजाना पेरामुनाको नेतृत्वमा रहेका दलहरूका अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन्।

आर्थिक र विदेशी मुद्राको कमीका कारण ऊर्जा सङ्कट भोगिरहेको श्रीलङ्कामा राजापक्षको राजीनामा माग्दै ठूला प्रदर्शन हुन थालेपछि ती साना दलहरूको निर्णय आएको हो।

सांसदहरूको निर्णयले राजापक्षलाई पार्ने असरका बारेमा स्पष्ट छैन। ती दलले आफूलाई सरकारबाट टाढा राखे पनि प्रतिपक्षी दललाई समर्थन गरेका छैनन्।

यो निर्णयपछि संसद्‌मा प्रधानमन्त्रीको अवस्थाका बारेमा प्रश्न उठाएको छ।

राजापक्षको मन्त्रिमण्डलका सदस्यले राजीनामा गरिसकेका छन् तर राजापक्ष र उनका दाइ प्रधानमन्त्री महिन्दा राजापक्षले राजीनामा दिन अस्वीकार गर्दै आएका छन्।

राष्ट्रपतिले प्रतिपक्षी दलहरूलाई राष्ट्रिय सरकारका लागि आह्वान गर्दै मन्त्रिपरिषद्मा आउन अनुरोध गरेका छन्।

प्रतिपक्षी दलहरूले सो अनुरोधलाई अस्वीकार गर्दै उनको राजीनामा मागेका छन्।

“जनताले चाहेको कुरा भनेको राष्ट्रपति र उनको सरकारले राजीनामा देओस् भन्ने हो,” प्रमुख प्रतिपक्षी दल सामागी जन बालावेगायाका सजिथ प्रेमादासाले भने।

मङ्गलवार नवनियुक्त अर्थमन्त्रीले २४ घण्टा पनि नबित्दै राजीनामा दिने घोषणा गरे।

राष्ट्रपतिका नजिक मानिएका अली साब्रीले आफ्नो सांसदको पद पनि यो अवस्थालाई व्यवस्थापन गर्न सक्ने व्यक्तिलाई दिन तयार रहेको बताए।

मङ्गलवार पनि श्रीलङ्काका प्रमुख सहरहरूमा सरकारविरोधी प्रदर्शनहरू भएका छन्।

“मानिसहरू आफ्नो दैनिक दालचामल र आधारभूत आवश्यकताका वस्तुहरू पनि किन्न सक्दैनन्। मानिसहरू काममा जान वा विद्यालय जान बस चढ्न सक्दैनन्,” एक प्रदर्शनकारीले बीबीसीलाई बताए।

“योभन्दा कति खराब अवस्था हुन सक्छ? पेट्रोल छैन, डिजेल छैन, कागत नभए बच्चाहरूले परीक्षा दिन पाएका छैनन्,” अर्का प्रदर्शनकारीले भने।

गएका केही दिनयता प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग्न थालेका छन्।

बिहीवार राति राष्ट्रपति भवन बाहिरको प्रदर्शन हिंसात्मक बनेपछि प्रदर्शन रोक्न शुक्रवारदेखि आइतवारसम्म लगाइएको कर्फ्यु पनि प्रदर्शनकारीले तोडेका थिए।

सन् २०१९ को निर्वाचनमा लोकप्रिय बहुमतले विजयी भएका राजापक्षको लोकप्रियता अहिले निकै कम भएको बताइन्छ।

विदेशी मुद्राको सञ्चिती नभएका कारण श्रीलङ्काले इन्धन र अन्य वस्तुको आयातको पैसा तिर्न सकेको छैन। सन् १९४८ मा स्वतन्त्र भएयता श्रीलङ्कामा देखिएको यो सबैभन्दा नराम्रो आर्थिक सङ्कट हो।

“इन्धन र खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुहरूको अभाव छ। औषधि नभएरै अस्पतालहरू बन्द हुने अवस्थामा पुगेका छन्,” राजापक्षलाई गरेको समर्थन फिर्ता लिएको श्रीलङ्का फ्रिडम पार्टीका नेता तथा पूर्वराष्ट्रपति सिरीसेनाले संसद्मा भने।

“यो अवस्थामा हाम्रो दल जनताको पक्षमा छ।” बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट