अभिनेता भुवन केसीले आफू काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवारी नदिने निर्णय छन् । शनिबार सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गर्दै केसीले सो कुरा बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, आदरणीय आम नेपाली नागरिक, कला क्षेत्रका सम्पूर्ण शुभचिन्तक तथा मलाई माया गर्ने सम्पूर्ण दर्शकहरू !
उन्नत लोकतन्त्र पार्टीले मलाई आफ्नो चुनाव चिन्ह खुला किताब मार्फत काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरी मप्रति देखाएको विश्वास र सद्भावका लागि म आफ्नो तर्फबाट मात्र नभई पुरै कलाक्षेत्रको तर्फबाट सम्पूर्ण कला क्षेत्रको सम्मान हो भन्ने बुझी आभार तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु । उन्नत लोकतन्त्र पार्टीको सो साहसिक निर्णय पनि थियो । उक्त निर्णयको स्वागत गर्ने आम नागरिकहरूप्रति पनि म हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु ।
यस बीचमा धेरै भ्रम अनावश्यक चर्चा र आरोप प्रत्यारोपहरू पनि सार्वजनिक भए सो क्रममा मविरुद्ध अनावश्यक र अनर्गल रूपमा उठाइएको टिप्पणीहरूको वस्तुपरक रूपमा धेरै सकारात्मक र केही नकारात्मक दुवै टिप्पणी गर्ने सबै साथीहरू प्रति पनि म आभार व्यक्त गर्दछु । मैले यो काठमाडौँ उपत्यकाको पुस्तैनी रूपमा सम्पदा, समस्या र सम्भावनाहरूलाई मनैदेखि आत्मसात् गरेको छु ।
त्यसैले यस महानगरको मेयरको रूपमा कुनै कलाकारले जनताको सेवा गर्ने इच्छा राख्नु अस्वाभाविक होइन भन्नेमा पनि विश्वस्त छु । तर एउटा कलाकारले जनप्रतिनिधिको रूपमा जनताको सेवा गर्ने सक्तैन भन्ने प्रकारका टिप्पणीहरू आएको देख्दा चाहिँ अझै पनि नेपाली समाजमा राजनीतिप्रतिको एकलकाँटे दृष्टिकोण कति जबरजस्त रहेछ भन्ने बुझेर म खिन्न पनि भएको छु ।
तर ती प्रतिक्रियाका कारण नभई प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण म महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको छु । र यसै पत्रमार्फत् हालका दिनसम्म म कुनै पनि पार्टीमा नरहेको पनि जानकारी गराउन चाहन्छु । स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग छलफल भएको र धेरैले आफूलाई आफ्नो पार्टीमा आउन आमन्त्रण गरेको सन्दर्भमा मैले उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको तर कुनै ठोस निर्णय नभएको पनि यहाँहरूमा अवगत गराउन चाहन्छु ।
मैले हालसम्मको जीवनमा राजनीतिलाई नजिकबाट नियालेर निकालेको निष्कर्ष अनुसार नेपालमा राइट टु रिजेक्ट र राइट टु रिकलसहितको उन्नत लोकतन्त्रबिना जनताका अधिकारहरू स्थापित हुन र सुशासन कायम हुन सक्तैन । आशा एवम् विश्वास छ सबै नागरिकहरूबाट राइट टु रिजेक्ट र रिकलको जनताको अधिकारका लागि साथ समर्थन र सहयोग प्राप्त हुनेछ ।
यो अभियानको नेतृत्व गर्ने उन्नत लोकतन्त्र पार्टी र अध्यक्ष मेरा प्रिय मित्र मैले मेरो भाइ भनेर सम्बोधन गर्ने अधिवक्ता स्वागत नेपालप्रति मेरो नैतिक समर्थन रहनेछ । तर अबको दिनमा राजनीति कहाँ, कुन पार्टीबाट गर्ने भन्ने मैले निधो गरिसकेको छैन । गरेको दिन यहाँहरूलाई सहर्ष जानकारी गराउँदै, यहाँहरूको साथ र सहयोगको अपेक्षा राख्ने नै छु ।