जीवनको उत्तराद्र्धमा गिरिजाप्रसाद कोइरालाले छोरी सुजातालाई राजनीतिमा स्थापित गर्न चाहेका थिए। कोइरालाको त्यो चाहना उनका गतिविधि र अभिव्यक्तिमा प्रस्टै देखिन्थ्यो।
कोइरालाले दोस्रो जनआन्दोलन २०६२/६३ पछि आफ्नै नेतृत्वको सरकारमा सुजातालाई उपप्रधानमन्त्री बनाए। कोइरालाले छोरी सुजातालाई इंगित गर्दै एउटा सार्वजनिक भाषणमा ‘छिट्टै नेपालमा महिला प्रधानमन्त्री हुने’ भनेर अभिव्यक्तिसमेत दिएका थिए। कोइरालाको जीवनकालमा सुजाताको आकर्षक ओज थियो। सुजातालाई पार्टी वृत्तमा भ्याइनभ्याइ थियो। जहाँ गयो त्यहीँ कार्यकर्ता वरिपरि हुन्थे। बुवाको निधनपछि भने सुजाताको ओज चाउरिएको छ।
कोइरालामा जस्तै अहिले पनि राजनीतिक दलका शीर्ष तहका नेता सन्तान र आफन्त मोहमा लिप्त देखिन्छन्।
छोरीलाई स्थापित गर्ने दाहालको दाउ
पुष्पकमल दाहाल (प्रचण्ड) १० वर्षे सशस्त्र द्वन्द्वकालका चर्चित पात्र हुन्। त्यतिबेला उनको नाम नसुन्ने सायद कोही थिएन। माओवादीले सुरु गरेको सशस्त्र आन्दोलनका कमान्डर दाहाल शान्ति प्रक्रियामा आइसकेपछि पनि गुमनाम भएनन्, चर्चामै छन्। दुईपटक देशको प्रधानमन्त्री भए। त्यसबाहेक सातवटा सरकार बनाउन आफूले प्रमुख भूमिका निर्वाह गरेको दाहालले एक प्रसंगमा बताएका थिए। विभिन्न सरकार ढाल्न पनि उनको हात रह्यो।
लगातार तीन दशकदेखि राजनीतिक वृत्तमा चर्चित पात्र दाहालले गृह जिल्ला चितवनको एउटा कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको अघि आफ्नो नाम गौण भएको बताए। रेणु अध्यक्ष दाहालकी छोरी हुन्। दाहालले रेणुको बखान गर्दा पुत्रीमोह झल्किन्थ्यो, जुन छापामार युद्धको कमान्डर र क्रान्तिकारी नेताका लागि शोभनीय होइन।
माओवादी केन्द्रका अध्यक्ष दाहालले त्यो कार्यक्रममा भनेका थिए, ‘२०७४ सालको निर्वाचनमा रेणु यहाँ आउँदा सबैले प्रचण्डकी छोरी भन्ने गर्थे। यद्यपि रेणुको आफ्नै त्याग, तपस्या थियो। रोल्पा, रूकुमजस्ता जिल्लादेखि भूमिगत रूपले जनयुद्धकालमा प्रवासका सहरमा काम गरेको उनको आफ्नै अनुभव थियो। म खुसी छ, अहिले आउँदा रेणु प्रचण्डकी छोरी होइन, रेणुको बुवा प्रचण्ड भएको छ।’ दाहालले छोरी रेणुको तारिफमा खर्चिएका शब्द यी पहिला र अन्तिम होइनन्।
अहिले उनी साता पनि नबित्दै चितवन पुग्छन्। जहाँ हुने हरेक सभा समारोहमा उनी छोरीको प्रसंग निकालेर तारिफ गरिहाल्छन्। देशदौडाहामा समेत उनले छोरीको तारिफ गर्न थालेका छन्। दाहालले छोरीको यसरी तारिफ गर्नुको आशय प्रस्ट छ, पुनः मेयरमा दोहोर्याउने।
दाहालले २०७४ को स्थानीय तह निर्वाचनमा छोरीलाई जिताउन कांग्रेससँग गठबन्धन गरेका थिए। कांग्रेसले मेयरमा दिनेश कोइरालालाई दिइसकेको टिकट अन्तिम समयमा सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगलाई भनेर बदर गराएका थिए। निर्वाचनमा रेणुलाई कांग्रेसले सघाएको थियो। मतगणना हुँदा हार्ने छनक देखिएपछि माओवादी कार्यकर्ताले मतपत्र च्याते । फेरि भएको मतदानमा झिनो मतान्तरले रेणु मेयरमा विजयी भइन्, एमालेका देवी ज्ञवाली उनका निकटतम प्रतिस्पर्धी बने।
यसपटक पनि दाहाल रेणुलाई मेयरमा दोहोर्याउन चाहन्छन्। त्यसका लागि माओवादी केन्द्रको एकल चुनावी अभियान पर्याप्त हुन्न। कांग्रेस वा एमालेसँग तालमेल गर्नुपर्ने हुन्छ। छोरीलाई मेयरमा दोहोर्याउन दाहाल अनेक खेल खेल्न तयार छन्। सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्रेसलाई धम्काउनेदेखि फकाउनेसम्मको रणनीतिमा उनी देखिन्छन्।
चितवन कांग्रेस अहिले कुनै पनि हालतमा भरतपुर महानगरपालिकामा पार्टीकै उम्मेदवार उठाउने अडानमा छ। उसले बरू अन्य सिट माओवादीलाई छाडेर जिल्लामा तालमेल गर्न सकिने प्रस्ताव अगाडि सारेको छ। चितवन कांग्रेसबाट हुने बाधाअड्चन छल्न नै दाहालले अहिले छोरीको प्रशंसामा लगातार आफूलाई प्रस्तुत गरिरहेका छन्। उनी छोरी रेणु भरतपुरमा लोकप्रिय रहेको र अत्यधिक काम गरेको सिद्ध गर्न चाहन्छन्, कांग्रेसको समर्थन जुटाउन चाहन्छन्।
दाहालको गतिविधि हेर्दा उनी ‘पुत्रमोहमा द्रवित भएका महाभारतका धृतराष्ट्र’ जस्तो देखिएको कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला बताउँछन्। उनी भन्छन, ‘शीर्ष नेताहरूमा परिवार मोहको यस्तो रूप देखिनु दुःखदायी हो।’ चितवनमा न्यायिक र संगठनात्मक हैसियतअनुसार चुनावी तालमेल गर्नुपर्ने तर्क उनको छ।
नेपाली कांग्रेस चितवनका पूर्वसभापति एवं केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ गठबन्धनका नाममा दाहाल बाबुछोरीलाई जिताउने जिम्मेवारी कांग्रेसले लिन नसक्ने बताउँछन्। ‘एमालेको रिसले आफू रित्तिएर प्रचण्डका बाबुछोरी दुवैलाई बोक्न सकिन्न,’ उनी भन्छन्, ‘पछि प्रतिनिधिसभामा आफू लड्ने हो भने प्रचण्डले महानगरको मेयर कांग्रेसका लागि छाड्नुपर्छ।’
अध्यक्ष दाहाल छोरीमा मात्र सीमित छैनन्। उनले केही दिनअघि भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्य बनाएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा नियुक्त भएका रामनारायण बिडारीको समयावधि सकिएपछि रिक्त सिटमा भाइ नारायणलाई ल्याउन दाहाल सफल भएका हुन्।
‘कांग्रेसमा भाउजूतन्त्र’
‘कांग्रेसमा अहिले भाउजूतन्त्र छ। भाउजूको आशीर्वादबिना कुनै काम हुन्न,’ केही दिनअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भेटिएका कांग्रेसका एक नेता भन्दै थिए। उनको भनाइमा भाउजू पात्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणा हुन्। ती नेताले भनेजस्तै अहिले देउवाले राजनीतिमा पत्नी आरजुलाई निकै बढावा दिएको गुनासो कांग्रेसभित्र व्यापक छ।
कांग्रेस विधानअनुसार देउवाको पार्टी सभापति यो अन्तिम कार्यकाल हो। यसपछि पार्टीमा आरजुलाई शक्तिशाली रूपमा स्थापित गर्ने मनशायमा देउवा रहेको चर्चा कांग्रेसवृत्तमा भइरहन्छ। यसैकारण देउवाले प्रधानमन्त्री र पार्टी सभापतिको हैसियतमा गर्ने महत्वपूर्ण निर्णयमा आरजुलाई ‘स्पेस’ दिने गरेको आरोप छ।
सरकार सञ्चालनमा पनि प्रधानमन्त्री देउवाभन्दा आरजु नै हाबी भएको चर्चा छ। राजनीतिक नियुक्तिहरू हुन् या पदोन्नति, सबैमा आरजुको हात माथि छ। आरजुको समर्थनबिना यस्ता काम सम्भव नहुने चर्चा कांग्रेसभित्रै छ। पार्टी सञ्चालनमा पनि अहिले आरजु नै हाबी छिन्।
पार्टीभित्रका महत्वपूर्ण निर्णय, नियुक्ति, जिम्मेवारी बाँडफाँट र अवसर वितरणमा आरजुको परामर्शबिना देउवाले काम गर्दैैनन् भन्ने आरोप छ। यसैकारण अहिले कांग्रेसका नेताहरू भाउजूको आशीर्वादका लागि हानथाप गरिरहेका छन्।
सबै नेतामा उस्तै रोग
कोइराला, दाहाल र देउवा मात्रै होइन, सन्तान, परिवार र आफन्त/नातागोतालाई राजनीति तथा अन्य लाभको स्थानमा पुर्याउन अन्य नेताहरू पनि सक्रिय छन्।
हालै विभिन्न देशमा राजदूत नियुक्तिका लागि गरिएको सिफारिसमा पनि नेताहरूको परिवारवाद र नातावाद छताछुल्ल भएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमा र नेपाल बहिनीज्वाइँ नाता पर्ने कैलाश पोखरेललाई अस्ट्रेलियाका लागि राजदूत सिफारिस गराउन सफल भए। माओवादी केन्द्रकी नेतृ एवं ऊर्जामन्त्री पम्फा भुसालकी बहिनीज्वाइँ वासुदेव मिश्र श्रीलंकाको राजदूतमा सिफारिस भएका छन्।
यस्ता नियुक्तिहरूमा नेताका आफन्त र नातागोता पर्नु सामान्यजस्तै भएको छ। पार्टीमा पनि नेताहरूले आफ्नै परिवारका सदस्यहरूलाई स्थान दिएका छन्। एमालेमा पनि पतिपत्नी नै नेतृत्व तहमा छन्। एमालेमा पनि नेतृत्वले आफ्ना मान्छेलाई काखी च्याप्ने रोग लागेको एक नेताले बताए।
माओवादी केन्द्रका नेताहरूले पनि आफ्ना सन्तान रनातागोतालाई राजनीतिक लाभका पदहरूमा स्थापित गर्न खोजेको प्रस्ट देखिँदै आएको छ। यो प्रवृत्ति मधेसवादी दल तथा अन्य ससाना दलमा पनि देखिन थालेको छ। यसले प्रजातन्त्रको मर्मलाई नै गिज्याइरहेको प्राध्यापक डा. गान्धी पण्डित बताउँछन्। ‘हामीले प्रजातन्त्र यसैका लागि ल्याएका थिएनौं। शीर्ष नेताहरूले नै नातावाद रकृपावादलाई प्रश्रय दिँदा यसले प्रजातन्त्र र राजनीतिलाई नै गिज्याइरहेको छ,’ उनले भने, ‘यो दुःखद पक्ष हो ।’नागरिक दैनिकमा खबर छ ।