रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको मेयरको उम्मेदवारमा नेकपा एमालेका युवा नेता बालकृष्ण सापकोटाले दाबी गरेका छन् । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेता सापकोटाले चन्द्रपुर नगरपालिकाको भावी मेयरका लागि उम्मेदवारी दावी गरेका हुन् ।
स्थानीय रुपमा राम्रो राजनीतिक छवी बनाएका सापकोटा युवाहरुमाझ निकै लोकप्रिय नेता हुन् । राजनीतिक जिम्मेवारीविना पनि उनले आफ्नो नगर क्षेत्रमा विकासका कार्यक्रहरु संचालन गर्न सक्दो भूमिका खेलेका थिए । राजनीतिमा युवाहरुको सक्रिय भुमिका हुनुपर्छ र नेतृत्वमा युवालाई स्थापित गर्नुपर्छ भन्ने अभियानमा लागेका सापकोटा विद्यार्थीकाल देखि नै क्रियाशिल राजनीतिमा लागेका युवा हुन् ।
यतिखेर स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा चन्द्रपुरको मेयरमा आफ्नो उम्मेदवारीलाई लिएर सापकोटाले पार्टीका नेता कार्यकर्तासँग व्यापक छलफल र परामर्श गरिरहेका छन् । एमाले भित्रैपनि नगरपालिकाको मेयरमा सिमित आकांक्षीमध्ये आफु सबैभन्दा बलियो उम्मेदवार रहेको सापकोटाले दावी गर्दै आएका छन् । जसका कारण एमालेले नगरपालिकाको मेयरमा उम्मेदवारी दिन सिफरिस गर्ने सापकोटाले विश्वास लिएका छन् ।
स्थानीय विकास निर्माणमा सँधै अग्रसर रहने सापकोटा पूर्व शहरी विकास मन्त्री एवं एमालेका प्रभावशाली नेता प्रभु साहका अत्यन्तै निकट र विश्वासिला पात्र हुन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका साहको पार्टी अध्यक्ष केपी ओलीसँग निकट सम्बन्ध रहेको छ । ओलीसँगको खास सम्बन्धकै कारण साह माओवादीबाट एमालेमा प्रवेश गरेका थिए । साहकै कारण पनि सापकोटाले मेयरको टिकट पाउन सक्ने एमालेका नेताकार्यकर्ताहरुले नै विश्लेषण गर्न थालेका छन् ।
सानै उमेरमा कम्युनिस्ट राजनीतिमा होमिएका सापकोटाको माओवादी जनयुद्दमासमेत विशेष योगदान रहेको छ । उनी सहिद परिवारका सदस्य पनि हुन । देशमा गणतन्त्र प्राप्तिको लागि सापकोटा परिवारका दुईजना सदस्य सहिद भएका छन् । प्रभु साह शहरी विकास मन्त्री हुँदा सापकोटाले स्वकीय सचिव भएर काम गरेका थिए ।
संघीय सरकारमार्फत बजेट निकासा गरेर चन्द्रपुरमा बाटोघाटो, मठमन्दिर, पुल पुलेसा एबम् धार्मिक तथा पर्यटन क्षेत्रमा उल्लेख्य काम गराउन सफल भएका कारण सापकोटालाई मेयरको उम्मेदवार बनाउनु पर्ने स्थानीयहरुको माग रहेको छ ।
नगरपालिकाको विकासका लागि आफुले अग्रणी भूमिका खेलेको सापकोटा बताउँछन् । उनि भन्छन्– ‘विकास भनेको जनताले प्रत्यक्ष देख्ने र लाभ लिन सक्ने खालको हुनुपर्छ, त्यसको लागि मैले हरेक क्षेत्रमा देखिने गरी काम गरेको छु । संघीय सरकारबाट बजेट निकासा गराएर चन्द्रपुरमा विकासका कामहरु गरेको मैले भन्नै पर्दैन, जोकोही स्थानीयवासीलाई थाहा छ ।’
मन्त्रीको स्वकीय सचिव भएरसमेत काम गरेका सापकोटाको चन्द्रपुर मात्र नभएर रौतहट जिल्लामै चर्चा हुने गरेको स्थानीय नेता कार्यकर्ता बताउँछन् । नगर विकासका लागि एक पटक युवालाई नेतृत्व दिनुपर्ने स्थानीयबासीले माग गरिरहेका कारण सापकोटालाई मेयरको उम्मेदवार बनाउनैपर्ने रौतहट एमालेलाई दवाव परेको छ ।