साहित्यकार तारा प्रसाद त्रिपाठीको ताराबाट झरेका फूलहरु कविता तथा मुक्तक संग्रह विमोचन भएको छ । राजधानी आयोजित एक भव्य कार्यक्रमकाबीच त्रिपाठीद्वारा रचित कविता तथा मुक्तक संग्रह विमोचन भएको हो ।
जनचेतना समाज परिवर्तन नेपालको आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजालसहित विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली कला क्षेत्रका ख्यातीप्राप्त कलाकारहरुको समेत सहभागिता थियो । चलचित्र निर्देशक तथा वरिष्ठ हस्य व्यङ्ग्य कलाकार दिपाश्री निरौला, निर्मल शर्मा, क्याप्टेन विजय लामालगायतका व्यक्तित्वहरुको सहभाागिता भएको हो ।
नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जर्गेनाका निम्ति विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको जनचेतना समाज परिवर्तन नेपालले क्यान्सर जितेर सफल जीवन प्राप्त गरेका पाँचखाल-३ काभ्रेका साहित्यकार त्रिपाठीको कविता तथा मुक्तक संग्रह विमोचनमा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सक र कलाकारहरुलाई सांगितिक थलोमा जोडेको हो ।
संस्थाले मुलुकमा समस्या परेको समयमा ज्यानको बाजी राखी योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान पत्रका साथै दोसल्ला ओडाएर सम्मानसमेत गरेको थियो । यसरी सम्मानित हुने व्यक्तित्वहरुमा वरिष्ठ मृगौला रोग विशेषज्ञ, डा. ऋषि कुमार काफ्ले, क्याप्टेन विजय लामा, नेत्र रेटिना सर्जन प्रा.डा. गोविन्द्र पौड्याल, क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही, डा. सुदिप श्रेष्ठ रहेका छन् । त्यसैगरी स्त्रीरोग विशेषज्ञ डा. शिला बर्मा, दन्त रोग विशेषज्ञ डा. सुवास घिमिरे, रक्त क्यान्सर रोग विशेषज्ञ डा. निरज कुमार सिंह, स्त्री रोग विशेषज्ञ डा.कुन्शाङ डोल्मा शेर्पा, बाल रोग विशेषज्ञ डा. धनराज अर्याल, कलाकार तथा समाजसेवी, समाजसेवी तारा प्रसाद त्रिपाठी र रामेश्वर जङ केसी समेत सम्मानित भए ।
यसैगरी कार्यक्रममा दिनदुःखीहरुको सेवामा सदैव लागि रहने कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष एवम् इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेललाई समेत संस्थाले कामको उच्च मुल्याङकन गर्दै सम्मान गर्यो ।
संस्थाकी अध्यक्ष मुना निरौला त्रिपाठीले संस्थाले विशुद्ध रुपमा समाज रुपान्तरणका लागि सकरात्मक सोचका साथ काम गरिरहेको बताइन् । संस्थाले विगत लामो समय देखि राजधानी हुदै बाहिरी जिल्लासम्म आपतविपतमा परेको समयमा अत्यावश्यक राहत सामग्रीहरु निःशुल्क वितरण गर्दै आएको निरौलाले जानकारी दिइन् ।