सरकारले सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई एआईजीमा बढुवा गरेको हो ।
४ वैशाखमा बसेको गृह मन्त्रालय बढुवा समिति सचिवालयको डीआईजी अर्याललाई एआईजीमा सिफारिस गरेको थियो । यो सिफारिससँगै अर्याल भावी महानिरीक्षक (आईजी) बन्ने पक्का भएको थियो ।
हालका महानिरीक्षक पुष्पराम केसीले १८ वैशाखमा अनिवार्य अवकाश पाएपछि १९ वैशाखदेखि अर्यालले सशस्त्रको नेतृत्व लिनेछन् ।
पेसाप्रति निडर, इमानदार र व्यावसायिक छवि बनाएका ४८ वर्षीय अर्याललाई बुधबार दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ । उनी अब ६ दिन मात्र एआईजी रहनेछन् । सशस्त्र प्रहरी बलको २१ वर्ष लामो इतिहासमा सबैभन्दा छोटो समय एआईजी बनेर महानिरीक्षक बन्ने उनी पहिलो व्यक्ति हुनेछन् । साथै सशस्त्र प्रहरीको इतिहासमै सबैभन्दा कम उमेरमा महानिरीक्षक बन्ने व्यक्ति पनि उनी नै हुनेछन् ।
२३ मंसिर २०३१ मा बाबु दामोदरप्रसाद अर्याल र आमा शारदा अर्यालको कोखबाट जन्मेका अर्याल १८ चैत २०५४ मा नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका थिए । उनी २०५८ सालमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)का रूपमा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।
काठमाडौंको तारकेश्वर नगरपालिका–५ का स्थायी बासिन्दा उनले चारवटा विषयमा स्नातकोत्तर गरेका छन् । ग्रामीण विकास, राजनीतिक शास्त्र, समाजशास्त्र र अन्तर्राष्ट्रिय मानवीय कानुनमा उनले स्नातकोत्तर गरेका छन् ।
उनले स्वदेशमा विशेष शस्त्र तथा युद्धकला, सशस्त्र प्रहरी सहिष्णुता तालिम, गुल्मपति तथा स्टाफ तालिम, उच्च व्यवस्थापन र विकास, एड्भान्स ट्रेनिङ अन नेसनल सेक्युटिरीसहित १० वटा तालिम लिएका छन् । त्यस्तै, उनले अमेरिका, श्रीलंका, जर्मन, चीन र इटालीमा गरी पाँचवटा विदेश तालिम गरेका छन् ।
प्रहरीमा रहँदा तत्कालीन वडा प्रहरी कार्यालय बौद्धको प्रमुखको जिम्मेवारी बहन गरेका उनले सशस्त्र प्रहरीमा स्थानान्तरण भएपछि आठवटा कार्यालयमा प्रमुख भएर काम गरिसकेका छन् । उनले सशस्त्र प्रहरी बल बाघभैरव गुल्म, सशस्त्र प्रहरी बल प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा, कालिञ्चोक भगवती गण, चण्डिका गण, तालिम महाविद्यालय लामापाटन, यूएन तालिम केन्द्र ककनी, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयमा प्रमुख भएर काम गरेका हुन् ।
यस्तै, उनले सशस्त्र प्रहरी नायब उपरीक्षक हुँदा १८ पुस २०६० देखि १७ असर २०६१ सम्म लाइबेरिया मिसनमा काम गरेका थिए । २५ वैशाख २०६३ देखि ५ वैशाख २०६४ सम्म यूएन मिसन सुडानमा काम गरेका उनी २० फागुन २०६८ देखि २० फागुन २०६९ सम्म यूएन मिसन डार्फरमा कार्यरत थिए । १० माघ २०७० देखि २४ मंसिर २०७१ सम्म उनी लाइबेरियामा एफपीयू कमान्डरका रूपमा कार्यरत थिए ।
२०७८ सालमा सुकीर्तिमय राष्ट्रदीप तृतीयबाट विभूषित उनी २०७४ सालमा सुप्रबल जनसेवाश्री, २०६२ सालमा परदेश सेवापदक, २०६१ सालमा गोरखा दक्षिणबाहु चौथोबाट विभूषित भएका थिए । यस्तै, उनले २०६३ सालमा सुडानमा यूएन मेडल, २०६१ सालमा लाइबेरियामा रहँदा यूएन सेवापदक पाएका थिए । २०६० सालमा उनलाई दैवी प्रकोप उद्धार पदक प्रदान गरिएको थियो ।
हक्की स्वभावका अर्यालको कार्यकालमा सशस्त्र प्रहरीले नयाँ उचाइ लिने सशस्त्रका अधिकृतको विश्वास छ । २४ वर्ष लामो सेवामा उनी कुनै पनि विवादमा आएका छैनन् । उनी २०७७ सालको उत्कृष्ट बाहिनीपति पनि बन्न सफल भएका थिए ।
हालका डीआईजी नारायणदत्त पौडेलले उनलाई मनदेखि नै स्वीकारेर सहकार्य गरी अघि बढ्ने वचनसमेत दिइसकेका छन् । पौडेल अर्यालकै ब्याचमेट हुन् । उनी पनि यसअघि एआईजीको दौडमा थिए । तर, उनले अर्याल एआईजी भए पनि आफ्नो कुनै आपत्ति नरहने बताउँदै आएका थिए । एआईजीको दौडमा उनीहरूले एकअर्काप्रति कटाक्ष नगरी मित्रवत् रूपमा अघि बढेका थिए । विगतमा प्रतिस्पर्धीबीच एकले अर्काेलाई स्वीकार गर्न नसक्दा सशस्त्र प्रहरीले राम्रो बाटो समात्न नसकेको भन्दै उनीहरू यो बाटोमा अघि बढेका हुन् । राजधानी दैनिक