प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीले सङ्गठनको हितका लागि विधिसम्मतरूपले इमान्दारी, निष्ठा र पूर्ण व्यावसायिकता निभाउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रहरी प्रधान कार्यालयबाट आज भर्चुअलरूपमा भिडियो कन्फ्रेन्समार्फत् उहाँले एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्वक एवं निष्पक्षरूपमा सम्पन्न गराउन पूर्ण सजगताका साथ भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।
उक्त कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रमुख, सङ्घीय प्रहरी एकाइ कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा ट्राफिक प्रहरी कार्यालयका प्रमुखको सहभागिता थियो । प्रदेश प्रहरी कार्यालयले एकआपसमा समन्वय गर्दै आवश्यक योजना बनाई काम गर्नुपर्नेमा जोड दिँदै उहाँले आफ्नो कार्यकालमा सङ्गठनको हित तथा सुधारका लागि निर्वाह गरेको भूमिकाप्रति आभार प्रकट गर्नुभयो ।
सङ्गठनको प्रणाली, कार्यविधि, नीतिलगायत सङ्गठनको सुधारका निम्ति तयार गरिएको कार्ययोजना एवं मापदण्ड लागू गर्न सबै प्रहरी कर्मचारीको भूमिका रहने उल्लेख गर्दै उहाँले आगामी दिनमा समेत स्वअनुशासन र चरित्र अङ्गीकार गर्दै थप क्रियाशील रहन आग्रह गर्नुभयो ।