प्रमुख/अध्यक्षमा कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार-Sutra News

प्रमुख/अध्यक्षमा कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार

शुक्रबार, १६ बैशाख २०७९

शुक्रबार, १६ बैशाख २०७९

३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रमुख विपक्षी दल नेकपा एमाले सबैभन्दा बढी प्रमुख पदमा उम्मेदवार उठाउने दल बनेको छ ।



स्थानीय तह निर्वाचन

निर्वाचन आयोगमा देशभरबाट परेको उम्मेदवारको मनोनयनको बिहीबार राति प्राप्त सूचीअनुसार ७ सय ५३ स्थानीय तहमध्ये नेकपा एमालेले ७ सय ३८ पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको छ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले भने ६ सय ४६ पालिकामा मात्रै प्रमुख पदमा उम्मेदवारी दिएको छ ।

आयोगको सूचीअनुसार कांग्रेसले १ सय ७ पालिका प्रमुख र एमालेले १५ पालिकामा प्रमुख पदमा उम्मेदवारी दिएको छैन । एमालेका तर्फबाट स्थानीय तहको प्रमुखमा २ सय ९१ जनाको उम्मेदवारी पर्दा उपप्रमुख पदमा २ सय ८६ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, कांग्रेसकोतर्फबाट परेको उम्मेदवारीको सूचीअनुसार स्थानीय तहको प्रमुख पदमा २ सय ६५ र उपप्रमुखमा सत्तारूढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट २ सय १८ जनाको उम्मेदवारी परेको छ ।

यस्तै, पालिका अध्यक्षमा एमालेका तर्फबाट ४ सय ४७ र उपाध्यक्षमा एमालेको ४ सय ४५ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । यस्तै, कांग्रेसकातर्फबाट भने पालिका अध्यक्षमा ३ सय ८१ र उपाध्यक्षमा ३ सय ६० जनाको उम्मेदवारी परेको छ ।

एमाले
कुल पालिका प्रमुख ७३८
प्रमुख २९१
अध्यक्ष ४४७
वडाध्यक्ष ६५२२

नेपाली कांग्रेस
कुल पालिका प्रमुख ६४६
प्रमुख २६५
अध्यक्ष ३८१
वडाध्यक्ष ६१४०

यसैगरी, देशका ६ हजार ७ सय ४३ वडाको वडाअध्यक्ष पदका लागि एमालेकातर्फबाट ६ हजार ५ सय २२ जनाको उम्मेदवारी पर्दा कांग्रेसको तर्फबाट ६ हजार १ सय ४० जनाको वडा अध्यक्ष पदमा उम्मेदवारी परेको पाइएको छ ।

यस्तै, महिला सदस्यमा एमालेका तर्फबाट देशभर ६ हजार ४ सय ९ जनाको उम्मेदवारी पर्दा कांग्रेसका तर्फबाट ६ हजार ८८ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, दलित महिला सदस्यतर्फ एमालेका ६ हजार २ सय ६ जनाको उम्मेदवारी पर्दा कांग्रेसका तर्फबाट ५ हजार ८ सय २५ जनाको उम्म्ेदवारी परेको देखिन्छ ।

यस्तै, सदस्य पदमा ७७ जिल्लामा एमालेकातर्फबाट १२ हजा ८ सय ८२ जनाको उम्मेदवारी पर्दा कांग्रेसका तर्फबाट १२ हजार १ सय ३९ जनाको उम्मेदवारी परेको छ ।

स्थानीय तह निर्वाचनमा १ सयभन्दा बढी पालिकामा प्रमुख पदमा उम्मेदवारी दिने दलको संख्या ९ मात्र छ । अन्य दलले सयभन्दा कम स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

कांग्रेसले स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धनमा छन् । एमालेले समेत राप्रपासहितका केही साना दलसँग स्थानीय तहमा तालमेल गरेको छ ।

निर्वाचन आयोगका अनुसार १ सयभन्दा बढी पालिकामा प्रमुख पदमा उम्मेदवारी दिने दलमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेसनल अर्गनाइजेसन र जनमत पार्टी छन् । राजधानी दैनिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट