पोखरामा ३९ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । २०४० मा दोश्रो खेलकुद भएपछि गण्डकीमा राष्ट्रिय खेलकुद हुन सकेको थिएन । प्रतियोगिताको तयारीका लागि गण्डकी सरकारले चासो दिएको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उच्चस्तरीय बैठक आयोजना गरी तयारीमा जुट्न निर्देशन दिए । प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म सन्चालन हुँदैछ ।
प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले खेलाडी छनोट र खर्च प्रक्रियाका लागि तयारी तत्कालै थाल्नुपर्ने सुझाव दिए । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले प्रतियोगिता सन्चालनका लागि गण्डकी सरकारका लागि मात्रै ५ करोड २० लाख भन्दा बढी खर्च लाग्ने बताएका छन् । उनका अनुसार यो रकम प्रदेशका खेलाडी छनोट र व्यवस्थापनका लागि हो ।
प्रतियोगितामा ३६ खेल समावेश हुनेछन् । पोखरामा हुने भएकाले प्रतियोगितामा नसमेटिने गरी छेलो र क्यानोनिङ समेत समावेश गर्न लागिएको गुरुङले जानकारी दिए । यो वर्ष ११ वटा टोलीबीच प्रतिश्पर्धा हुने भएको छ । प्रतियोगितामा ७ हजार खेलाडी, २ हजार व्यवस्थापक र १ हजार रेफ्री गरी कम्तीमा १० हजार जना प्रत्यक्ष उपस्थित हुनेछन् ।
प्रतियोगिता अन्तर्गत खेलहरु ११ वटै जिल्लामा विभाजन गरिएको छ । बास्केटबल (महिला–पुरुष) तनहुँ, बुद्धिचाल (महिला–पुरुष) मनाङ, आइटिएफ तेक्वान्दो (महिला–पुरुष) म्याग्दी, फुलकन्ट्याक्ट कराँते (महिला–पुरुष) स्याङ्जा र फेन्सिङ (महिला–पुरुष) पर्वतमा गर्न राखेपसमक्ष प्रस्ताव गरी पठाइएको समितिले जनाएको छ । राष्ट्रिय खेलकुदका लागि आवश्यक खेल पूर्वाधार निर्माणका लागि चालु आवमा राखेपले १६ करोड बजेट विनियोजन गरेको छ ।
यस्तै, पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल, हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुष, जिम्न्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषका खेल पोखरामा हुनेछन् ।
महिला फुटबल स्याङ्जाको वालिङमा हुनेछ भने तेक्वान्दो (महिला–पुरुष) बागलुङ, कराते (महिला–पुरुष) लमजुङ, टेवलटेनिस (महिला–पुरुष) मुस्ताङ, कबड्डी, कुस्ती र खोखो (महिला–पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला–पुरुष) गोरखामा खेलाउने योजना छ