जनमोर्चा अध्यक्ष केसीले भने– आफ्नो शक्ति नभएपछि धेरै ठाउँ ताकेर काम छैन-Sutra News

जनमोर्चा अध्यक्ष केसीले भने– आफ्नो शक्ति नभएपछि धेरै ठाउँ ताकेर काम छैन

शुक्रबार, २३ बैशाख २०७९

शुक्रबार, २३ बैशाख २०७९

राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । काठमाडौंमाा शुक्रबार आयोजित पाँच दलीय गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले सबैतिरबाट जनमोर्चामाथि आक्रमण भइरहेको बताए ।



आजभन्दा चार वर्षअघि वाम गठबन्धनमा समावेश भएको स्मरण गराउँदै उनले त्यो गठबन्धन टिक्न नसकेको बताए । ‘त्यो बेला हाम्रो समर्थन खेर गयो । झण्डै दुई तिहाई बहुमत पाएर नेकपा एमाले र माओवादी मिलेर सरकार चलाए । तर, पछि त बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीलाई त संसद नै देख्नै नहुने समस्या भयो,’ केसीले भने ।

ओलीले संसद् विघटन गर्ने बेला नै जनमोर्चाले प्रतिगमनका विरुद्ध रहेको बताएको उनले स्मरण गराए । ‘त्यो बेला नै हामीले विज्ञप्ति जारी गरेर प्रतिगमन गठबन्धनका विरुद्धमा छौं भनेर विज्ञप्ति नै जारी गरेको थियौं,’ केसीले भने, ‘जबसम्म वामपन्थी र प्रजातान्तिक शक्तिहरू एक भएनन्, प्रतिगमन बलियो बनिरह्यो ।’

अध्यक्ष केसीले अहिले प्रतिगठनकारीहरूले पाँच दलीय गठबन्धन अपवित्र भन्दै गाली गर्दै हिँडेको बताए । विगतमा गठबन्धन नगरेको भए प्रतिगमनले घुँडा नटेक्ने भन्दै उनले अहिलेको पाँच दलीय गठबन्धनभित्र समस्या रहेको बताए ।

‘पाँच दलभित्र प्रशस्तै विरोध छ । एक पार्टीभित्र त विरोध छ भने गठबन्धनमा हुनु स्वाभाविक हो,’ केसीले भने ।

गठबन्धनभित्रका अन्य दलले एमसीसी पास गराएपछि जनमोर्चा बाहिरिएको बताए । ‘एमसीसी पास गराउँदा हामीले गठबन्धनसँगको सहकार्य तोड्यौं । पछि चुनावको बेला फेरि एकजुट भयौं,’ केसीले भने ।

आफ्नो शक्तिअनुसार नै जनमोर्चाले स्थानीय तह निर्वाचनमा उम्मेदवार उठाएको बताए । ‘हामीले धेरै ठाउँ ताकेका छैनौं । धेरै ठाउँमा उम्मेदवार उठाउन हाम्रो शक्ति पनि त हुनुपर्‍यो । के कुरा ढाट्नु सत्य कुरा यही हो । हामीले सक्ने ठाउँमा उम्मेदवार उठाएका छौं, नसक्ने ठाउँमा अरुलाई सहयोग गर्छौं,’ केसीले भने ।

गठबन्धनभित्रका दलहरूले इमान्दारिताका साथ आफ्ना उम्मेदवारलाई जिताउनतिर लाग्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट