युक्रेनको विद्यालयमा रुसले बम खसाल्यो, ६० जनाभन्दा बढीको मृत्यु भएको आशंका-Sutra News

युक्रेनको विद्यालयमा रुसले बम खसाल्यो, ६० जनाभन्दा बढीको मृत्यु भएको आशंका

आइतबार, २५ बैशाख २०७९

आइतबार, २५ बैशाख २०७९

पूर्वी युक्रेनमा एउटा विद्यालयमा शनिवार रुसी बम खस्दा ६० जना भन्दा बढीको ज्यान गएको हुनसक्ने स्थानीय गभर्नरले जनाएका छन्।



लुहान्स्क क्षेत्रका गभर्नरले रुसी फौजहरूले पोपसाना नगरमा सबैकुरा ध्वस्त बनाइदिएको र युक्रेनी फौजहरू फिर्ता भएको बताए।

डोनबास क्षेत्र कब्जा गर्ने आफ्नो प्रयास अन्तर्गत त्यहाँ रुसले निरन्तर गोलाबारी गरिरहेको थियो।

गभर्नर सेरही हाइडाईका अनुसार रुसी गोलाबारीले नजिकैका अन्य दुई शहरमा विद्युत् आपूर्ति बन्द भएको छ ।

उक्त विद्यालय भवनमा ९० जना भन्दा बढीले आश्रय लिइरहेको बताइएको छ।

बम हमलापछि उक्त विद्यालयबाट ३० जनालाई उद्धार गरिएको भनिएको छ जसमा सात जना गम्भीर अवस्थामा छन्।

गभर्नर हाइडाइले शनिवार रुसले विद्यालय भवनमा बम खसालिदिएको बताए।

बीबीसीले उक्त आरोपको पुष्टि गर्न सकेको छैन। यसबारे रुसले कुनै प्रतिक्रिया जनाएको छैन।

घेराबन्दीमा रहेको स्टिल उद्योगबाट बाहिरिए सर्वसाधारण

यसअघि रुस र युक्रेनले घेराबन्दीमा रहेको मारिऊपोल सहरस्थित एजोभस्टाल स्टिल उद्योगबाट महिला, बालबालिका र वृद्धवृद्धा सबैलाई अन्यत्र लैजाँदै गरिएको घोषणा गरेका थिए।

संयुक्त राष्ट्रसङ्घ र रेडक्रसको समन्वयमा उक्त कार्य एक साताअघि सुरु भएको थियो। तर यी निकायहरूले भने यो पछिल्लो उद्धार गरिँदै गरेकोबारे पुष्टि गरेका छैनन्।

रुसको नियन्त्रणमा नरहेको सहरको अन्तिम भागमा पर्ने स्टिल उद्योगमा भारी बमबारी भइरहेको छ र युक्रेनी फौजहरू कठिन परिस्थिति हुँदाहुँदै पनि लडिरहेका छन्।

सर्वसाधारणलाई अन्यत्र लैजाने काम संयुक्त राष्ट्रसंघ र रेडक्रसले गरिरहेका छन्

रुसले हप्तौँदेखि घेराबन्दीमा राखेको उक्त उद्योगमा एजोभ बटालियनबाट प्रतिरक्षकहरूले आत्मसमर्पण गरुन् भन्ने रुसले माग गर्दै आएको छ।

उद्धार गरेर अन्यत्र लगिन लागेकाहरू अहिले कहाँ छन् भन्ने स्पष्ट छैन।

तर युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले मानवीय कारबाहीको यो हिस्सा अहिलेलाई सकिएको बताएकी छन्।

विगतमा युक्रेनको नियन्त्रणमा रहेको भूभागमा उद्धार गरिएकालाई पुर्‍याउन थुप्रै दिन लागेको थियो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ३०० भन्दा बढी सर्वसाधारणलाई स्टिल उद्योगबाट उद्धार गरिएको बताएका छन्। जबकी रुसी रक्षा मन्त्रालयले भने तीन दिनको अवधिमा ५१ जनाको मात्रै उद्धार गरिएको जनाएको छ।

जेलेन्स्कीले मारिऊपोलमा रहेका सेनालाई बाहिर ल्याउनका लागि कूटनीतिक प्रयासहरू जारी रहेको बताएका छन्। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट