स्थानीय तहको निर्वाचनमा हार व्यहोरेपछि आत्तिएका रविन्द्र मिश्रले विवेशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका छन् । विवेशील साझालाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा ब्याख्या गर्दै आएका मिश्रले पार्टीले स्थानीय चुनावमा व्यहोरेको निराशाजनक मतपरिणामको जिम्मेवारी लिँदै राजीनामा दिएका हुन् ।
मिश्रले एक विज्ञप्ति जारी गर्दै अवका दिनमा एक साधारण सदस्यको भूमिकामा मात्रै रहने गरी पार्टी पार्टी अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् । निर्बाचनमार्फत सदस्य तथा शुभेच्छुकको अपेक्षा पूरा गर्न नसकेकोमा दुःखी भएको बताउँदै मिश्रले भनेका छन्, ‘गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, हामीलाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई म नमन गर्दछु ।’
विज्ञप्तिमा मिश्रले भनेका छन्, ‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’