साझा यातायातले काठमाडौं उपत्यकामा विद्युतीय वस सञ्चालनका लागि सडकको अवस्था परीक्षण गरेको छ । व्यवसायिक रुपमा बस सञ्चालनका लागि एक साता अघि तीनवटा बस खरिद गरी रात्रीकालिन अवस्थामा सडकको अवस्था परीक्षण सुरु गरेको जनाएको हो ।
साझाले बुधबार साँझ आठ जना यात्रुसहित ८४ बोरा सिमेन्ट राखेर बसको परीक्षण गरेको थियो । एक पटक पुरा चार्जमा बसको पुर्ण क्षमता (पे लोड) मा कति गुड्न सक्छ, काठमाडौं र आसपासका सडकको अवस्था अनुसार गुड्न सक्ने नसक्ने र बसको ग्राउण्ड क्लिरेन्सको अवस्था कस्तो रहेको छ जस्ता अवस्थाको परीक्षण भएको साझा यातायात प्रालिका सदस्य भुसण तुलाधरले जानकारी दिनुभयो । सडकको अवस्था हेरेर परीक्षणको रिपोर्ट आएपछि थप अध्यन गरेर बाँकी ३७ वटा गरी पहिलो चरणमा जम्मा ४० वटा विद्युतीय वस सञ्चालन गर्ने तयारीमा रहेको तुलाधरले बताउनुभयो ।
हाल ७१ वटा डिजलबाट गुड्ने गाडीले सेवा दिँदै आएको साझाले वातावरणमैत्री सवारीसाधन सञ्चालन गर्ने लक्षसँगै तीन महिनाभित्र बस काठमाडौं ल्याई सक्ने कम्पनीले जनाएको छ । खरिद गरिने एउटा बसको मूल्य करबाहेक एक करोड पाँच लाख पर्ने साझाले जनाएको छ, भने कर, चार्जिङ स्टेशन, पाँच वर्षको मर्मत खर्च, भ्याट र कर सहित प्रतिबस एक करोड ५२ लाख लाग्ने साझाले जनाएको छ । बस एकपटक ब्याट्री चार्ज गर्दा दुई सय किलोमिटर गुड्नेछ भने बसमा १६१ किलोवाट पर आवरको ब्याट्री जडान भएकाले चार्ज गर्न चार घण्टा लाग्नेछ । डिजल, पेट्रोलबाट गुड्ने बसभन्दा विद्युतीय बस तीन गुणा सस्तो पर्ने साझा कम्पनीले निष्कर्ष निकालेको छ ।
एउटा बसको मूल्य करबाहेक एक करोड पाँच लाख पर्ने साझाले जनाएको छ, भने कर, चार्जिङ स्टेशन, पाँच वर्षको मर्मत खर्च, भ्याट र कर सहित प्रतिबस एक करोड ५२ लाख
एकातिर डिजल र पेट्रोलको मुल्य दिनानुदिन बृद्धि हुने क्रममा छ । सन् २०३० सम्ममा विश्वबाट इन्धनबाट गुड्ने सवारीसाधनलाई विस्थापित गरी विद्युतीय सवारीसाधन प्रयोगमा ल्याउने लक्ष्य राखेको छ । विद्युतीय सवारीसाधन प्रयोगलाई प्राथमिकता दिदै इन्धनबाट गुड्ने सवारीसाधनलाई विस्तापित गर्दै सन् २०३० सम्ममा विस्थापित गर्ने गरी नेपालले समेत सहमती जनाएपनि हाल विद्युतीय सवारीसाधन प्रयोगको दर भने बड्न सकेको छैन ।
साझाले तोकेको मूल्यभन्दा २७ प्रतिशत सस्तोमा गाडी काठमाडौं ल्याइने भएसँगै साझाले लक्ष्य भन्दा बढी गाडी थप गर्ने गरी निर्णय गर्न सक्ने भएको हो । चालक र ह्वीलचेयरसहित २६ सीट क्षमताको गाडीले ललितपुर र काठमाडौंमा सेवा विस्तार गर्ने छ । यो गाडी अपाङगमैत्री हुने साझाले जनाएको छ ।
हाल सुन्दर यातायातले चीनमा निर्मित विएके कम्पनी छ वटा गाडीले काठमाडौं रिङरोडमा सेवा दिँदै आएको छ भने चीनमै निर्मित बीवाइडी लुम्बिनी १० वटा लुम्बिनी क्षेत्रमा सञ्चालनका लागि ल्याईएको भए पनि दुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । साझा वसको सेयर नेपाल सरकारले खरिद गरेपछि बस खरिदको प्रकृया अघि बडेको थियो । सरकारले साझामा तीन अर्बको सेयर लगानी गरेको छ ।
विद्युतीय बस सञ्चालनमा आउने भएपछि यसका लागि अत्यावश्यक पर्ने पूर्वाधार चार्जिङ स्टेशन, ब्याट्रीको व्यवस्थापन लगायतका विषयमा सरकारसँग सहकार्य गरी साझाले पहल सुरु गरेको जनाएको छ । व्यपार घाटा कम गर्न मात्र नभएर वातावरणमैत्री सवारीसाधनको सञ्चालनमा जोड दिनु पर्ने वातावरणकर्मीहरुले आवाज उठाउदै आएका छन् । गोरखापत्र दैनिक