कुरा ०७८ फागुन २१ गतेको हो,…त्यो दिन म, भाउजू र बुहारी, तीन जना राझां एअरपोर्टबाट तारा एअरको जहाजमा काठमाडौ उड्दै थियौं । अचेल एप्सका कारण आफ्नो आवश्यकता, समय तथा रकमानुसार मोबाइलबाटै जहाजको टिकट काट्न सकिन्छ,मैले नि त्यही गरें ।
पहिलोचोटि प्लेन चढ्न लाग्नु भएकाले भाउजुलाई जहाज यात्रा पूर्ण रोमान्चक लागोस भन्ने मेरो चाहना थियो । तर, तारा जहाज सानो, कुल २२/२४ जना मात्रै अट्ने, घुडा खुम्च्याएर बस्नु पर्ने, पंखाको आवाजले कान खाने भएकाले सबै यात्रुलाई प्लेन चढ्ने बित्तिकै कपासको ब्यबस्था गरिनेलगायतका विशेषतायुक्त रैछ । पहिला कहिल्यै तारा जहाज नचढेकाले मलाई यसको विशेषता थाह थिएन । हाम्रोमा कुन चाहिँ जहाज तोकिएकै समयमा उड्छ र… त्यो दिन पनि करिब एक घण्टापछि मात्रै तारा उड्यो ।
जहाजमा चढ्न लाग्दा म अलि निराश भएं । कारण- तारा जहाज त सानो रैछ, अलि लामो खालको ट्याम्पूजस्तो… । तर पनि, यात्रा त गर्नु नै थियो । जहाज वा, गाडी वा बाइक, जुनै साधन चढ्दा पनि हातले छोएर सोही औलाहरु निधारमा लगेर- `रक्षा गर्नुस बिश्वकर्मा बाबा´ भन्ने मेरो स्वचालित बानी छ,त्यतीबेला पनि त्यही गरें । भर्याङ्ग चढ्ने बित्तिकै सबै यात्रुलाई एअरहोस्टेजले `नमस्ते´ `नमस्ते´ भन्दै सिटतिर देखाउने गर्छिन । म भने एअरहोस्टेजले भन्दा पहिला नै आफुले `नमस्ते´ गर्ने कोसीसमा हुन्छु । मेरो `नमस्ते´ पाएर एअरहोस्टेजले हल्का लजाउदै भनीन,`कहिलेकाही त हामीले पनि नमस्ते खान पाउने रैछौ…´´ त्यही उभिरहन कहाँ पाइयो र… गएर आफ्नो सिटमा बसें । मेरो सिट थियो, ठ्याक्कै पाइलट कक्षको पछाडि,झ्यालतिर,पंखाको छेउ ।
प्लेन स्टार्ट भएपछि एअरहोस्टेजले सबै यात्रुलाई कपास बाड्दै आइन । त्यतिबेला उनको नेम प्लेटमा आँखा पर्यो- किस्मी थापा । कपास लिदै नाम पढें- किस्मी थापा.. नाम त डेन्जर रैछ नि… उनी हल्का हासेर `कपास सर्भ´ मै ब्यस्त भइन ।
प्लेन उड्यो । डाडापाखा, हिमाल हेर्दै भाउजू र बुहारी केके कुरा गर्दै थिए, भाउजुले केके भन्दै हुनुहुन्थ्यो, जहाजको आवाज, त्यसमाथि कानमा कोचिएको कपासले मैले केही बुझीनं । अं अं को इशारा मात्रै गरें ।
म बसेको सिट अगाडि निलो पर्दा लागेको थियो । पर्दा हल्का पन्छाएर हेर्दा भित्र पाइलट कक्ष देखिन्थ्यो । हेर्न त पुरै मन थियो । तर एअरहोस्टेज कराउने हुन कि भन्ने डरले कतिकति बेला यस्सो चिहाएर मात्रै भित्र हेरें । भित्र एक जना युवक देखिए । झट्ट डर लाग्यो, ओहो.. यो भर्खरको भाइले हेल्चेक्र्याइ गर्यो भने त बर्बाद हुन्छ… अलि पाको पाइलटले चलाउनु पर्छ नि… मनमा डर उत्पन्न भएपछि झ्यालबाट बाहिरतिर हेर्न थालें । मनले के मान्थ्यो र… यस्सो पछाडि फर्कीएर एअरहोस्टेजलाई हेरें ।
उनको ध्यान अन्तै भएको जानेपछि अलि बढी पर्दा साइड लगाएर भित्र हेरें । प्लेनको बायाँ साइडमा पाको पाइलट रैछ्न । हेन्डल, बटमहरु उनले नै थिचीरहेका थिएं । उनले ती युवक (को-पाइलट) लाई सिकाउदै थिए क्यारे, हेन्डल तलमाथि, दायाँबायाँ गर्दा जहाजले पनि फरक फरक चाल देखाउथ्यो । पाको पाइलट देखेपछि मनबाट डर छु मन्तर भयो । तर पनि, मलाई प्लेन चढ्दा हरेक पट्क लाग्छ कि… हामी त हावामा छौ, के भर…फ्याट्ट फ्यान बेल्ट चुडियो भने.. धत…यस्तो त हुन्न हो…
मौसम सफा छ । आकाशमा कतै कतै टाढा बादल कुदिराछ । तर पनि… घना जंगल, हिमाल र पहाडको माथी जहाज पुग्दा के कसो हो भनेर मनमा डर भने रहीरह्यो…
फेरि यस्सो ककपिटमा चिहाएं । पाका पाइलट किताब पढ्दै, पढेको हरफमा चिनो लगाउदै, हेन्डल चलाउदै गरिराथे । “ओहो, किताब हेर्दै, त्यसको निर्देशन अनुसार जहाज उडाउनु पर्दो रैछ र…´´ आफैलाई अचम्म लाग्यो । फेरि सोचें,- होइन, को-पाइलटलाई सिकाइरहेका होलान…
एकछिनपछि फेरि भित्र चिहाएं । त्यतिबेला प्लेन काठमाडौ ल्यान्ड गर्ने एनाउन्स भयो । तब भने सिनीयर पाइलटले पढिरहेको किताब बन्द गरे र झोलामा हाले । त्यति बेला मैले स्पष्टसंग देखें, त्यो जहाज उडाउन सिकाउने किताब थिएन । त्यो थियो- श्रीमद्भागवत गीता ।
पाइलटले प्लेन उडाउदै गर्दा समेत किताब पढेको, त्यसमाथि पबित्र हिन्दु ग्रन्थ- श्रीमद्भागवत गीता.. मलाई बढो अचम्म लाग्यो ।
प्लेनबाट झर्दा पनि एअरहोस्टेजलाई मैले नै अगाडि नमस्ते गर्दै भने…“नमस्ते किस्मीजी..ओमाइ गड… डेन्जर नेम…´´
उनीले पनि नमस्ते गर्दै, “म हल्का डेन्जरै छु…´´ भनेर हासीन…
दैबको लेखा… ती उनै एअरहोस्टेज किस्मी थिइन, प्लेन त्यही 9N AET थियो, सिनीयर पाइलट उनै रैछ्न प्रभाकर घिमीरे, को पाइलट पनि सायद उनै थिए उत्सब..कहाँको जन्म, कहांको मृत्यु… हे दैब, तिमी किन यति धेरै कठोर भएका… हिजो मुस्ताङमा दुर्घटना भएको तारा एअरलाइन्समा परि दिवंगत हुनु भएका पाइलट प्रभाकर, को पाइलट उत्सब, एअरहोस्टेज किस्मीलगायत सम्पूर्ण यात्रुको आत्माको चीर शान्तिको कामना…
पत्रकार /लेखक /निर्देशक लक्ष्मण सुवेदीको तीन महिनाअघि तारा एयरसँग गरेको यात्रानुभूति
प्रतिक्रिया दिनुहोस्