गड्स अफ हेभन इभेन्ट्स प्राइभेट लिमिटेडले आयोजना गरेको ‘म्यान अफ द वल्र्ड नेपाल’ भित्र आर्थिक चलखेलको विषयले विवाद उत्पन्न गराएको छ । सन् २०२० मा आयोजना भएको प्रतियोगिताबाट आयोजकले ‘म्यान अफ द वल्र्ड नेपाल’का विजेता बनेका राजेन्द्र रावलको क्राउन खोसेर नयाँ अनुहारलाई दिए पछि विवाद उत्पन्न भएको हो ।
आयोजकले आफ्नो अफिसियल पेजमा रावलको ‘अनुचित व्यवहार’का कारण क्राउन खोसेर नयाँ प्रतिस्पिर्धी समर पुरीलाई दिएको उल्लेख गरेको छ । तर, क्राउन विजेता रावलले भने आयोजकले गरेको निणर्य र लगाएको आरोप अपमान जनक र भ्रामक रहेको दावी गरेका छन् ।
उनले भने, ‘आयोजक संस्थाले अब फिलिपिन्समा आयोजना हुने म्यान अफ द वल्र्ड’ प्रतिस्पर्धाका लागि मलाई सहयोग गर्नुपर्ने ठाउँमा उल्टै मोटो रकमको माग गरेर आर्थिक फाइदा उठाउने प्रयास गर्र्यो’, उनले भने, ‘तर, म उनीहरूको आर्थिक माग पूरा गर्न नसक्ने अडानमा बसेपछि अनुचित ब्यबहार देखाएर र भ्रम छरेर टाइटल खोसियो ।’
रावलले आयोजकका तर्फबाट ध्रुव बुढाथोकीले फिलिपिन्समा आयोजना हुने ‘म्यान अफ द वल्र्ड’का लागि परिचयात्मक भिडियो बनाउँन, अवात–जावतका लागि लाग्ने खर्च तथा आवश्यक तयारीकालागि विभिन्न शीर्षक राखेर मोटो रकमको माग गरेकाले आफूले इन्कार गर्दा टाइटल नै खोसिएको बताए । रावलले म्यान अफ द वल्र्ड नेपालको टाइटल मार्च २०२०मा अष्ट्रेलियामा आयोजित नेपाल ओसियानाको मिस्टर मिस र मिसेस् प्रतियोगितामार्फत जितेका थिए । तर, टाइटल जितेको २ वर्षपछि आयोजकले आर्थिक भारसहितको माग राखेर ब्ल्याकमेल गरि आफ्नो टाइटल खोसेके रावलको आरोप छ ।
२०७६ मङ्सिर २९ गते सोल्टी होटेलमा भएको कार्यक्रमबाट टप ३ फाइनालिस्ट छानिएका थिए । जसमा, प्रिन्स मिलिनियम सुब्बा, राजेन्द्र रावल र सन्दीप राज पन्त पर्न सफल भएका थिए भने, प्रतियोगितामा मल्टिमिडिया अवार्ड र मिस्टर ट्यालेन्ट निश्चल विश्वकर्मा, फिजीक प्रिन्स सुब्बा, बेस्ट वाक जनक थापा मगर, फोटोजेनिक मनिष ढकाल र पब्लिक च्वाइस चिरञ्जीवी थापाले जितेका थिए ।
तर, हाल आएर आयोजकले ‘म्यान अफ द वर्ड नेपाल’को उक्त प्रतियोगितामा एउटा पनि टाइटल हात नपारेका र प्रतियोगितामै सहभागी नभएका समर पुरीलाई टाइटल सुम्पिएको छ । आयोजकले पुरीलाई यहि जुन ८ तारिखमा फिलिपिन्समा आयोजना हुने म्यान अफ द वल्र्ड प्रतियोगिताकालागि लाने तयारी पनि गरिरहेको छ ।