अभिनेत्री नीता ढुङ्गानाको नीजि कम्पनि नीता फिल्मस् को तर्फबाट निर्माण हुन लागेको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ भारतको रामोजी फिल्म सिटीमा छायांकन हुने भएको छ । उक्त फिल्मका लिड अभिनेता हरिहर अधिकारीले समाचारको पुष्टी गरेका छन् ।
हालै चलचित्र निर्माण कम्पनि र फिल्म स्टुडियोबीच सम्झौता भएको हरिहरले बताए । संसारकै सर्वाधिक ठुलो फिल्म सिटीको रुपमा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको ‘रामोजी फिल्म सिटी हैदरावाद’मा पहिलो पटक नेपाली चलचित्रको छायांकन हुन लागेको हो ।
नीता ढुङ्गाना र हरिहर अधिकारी मुख्य अभिनयमा रहने फिल्ममा भारतका चर्चित कलाकारहरु समेत अभिनय गर्ने पक्का भइसकेको छ । फिल्ममा ‘गजनी’ भिलेन प्रदीपराजसहित दक्षिण भारतीय फिल्मका चर्चाका कलाकारहरु अभिनयमा रहनेछन् । फिल्मका सबै कलाकार को-को रहने निर्माण टिमले खुलाएको छैन । मूहर्त पहिले सम्पुर्ण ‘कास्ट एण्ड क्रू’बारे जानकारी गराइसक्ने नीता फिल्मस् ले बताएको छ ।
यसैबीच चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्मको प्रतिलिपि अधिकार निर्माण कम्पनिले आफ्नो पक्षमा पारेको छ । पछिल्लो क्रममा नेपाली फिल्म पाइरेसीदेखि स्टोरी जुध्नेगरि सोहि प्रकृतिका कन्टेन्टहरु अन्य कम्पनि र फिल्महरुदेखि सोसियल मिडियासम्ममा प्रयोग हुने क्रम बढेकोले फिल्मको नाम र स्कृप्टको प्रतिलिपि अधिकार दर्ता गरि अन्य कसैले ‘ह्रस्व दीर्घ’मा समेटिएका कुनै पनि कथा, संवाद र प्लट (कन्टेन्ट) प्रयोग गर्न नपाउने गरि प्रतिलिपि रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको बताइएको छ ।
फिल्म साउन महिनामा फ्लोरमा जाने बताइएको छ । हाल स्कृप्टलाई अन्तिम रुप दिने काम चलिरहेको निर्माण टिमले जनाएको छ । यो फिल्मलाई बलिउडका दर्जनौं सफल फिल्म खिचिसकेका छायांकार कविर लालले खिच्नेछन्।