नेपालको पूँजी बजार सुधार र विस्तारका लागि ठोस उपलब्धि हासिल नगरेसम्म सेयर लगानीकर्ताहरुले आन्दोलनको मैदान नछाड्ने बताएका छन् । सरकारले साढे तीन बर्ष अघि नै गरिसक्छु भनेका कामहरु कार्यान्वयन नगर्दा पूँजी बजारमा गम्भीर समस्या उत्पन्न भई लगानीकर्ताहरु पलायन हुन थालेका कारण ठोस उपलब्धि हासिल नभएसम्म आन्दोल नरोकिने बताएका हुन् ।
लगानीकर्ताका विभिन्न १० वटा साझा संस्थाले पूँजी बजार सुधारका लागि माग गर्दै सरकारले गर्छु भनेका कामहरु तत्काल गरी लगानीकर्ताहरुलाई आस्वस्त नपारेसम्म संघर्षका कार्यक्रम नरोकिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले आज साझा वक्तव्य निकाल्दै सबै जिल्ला प्रशासन कार्यालयहरुमा प्रदर्शन र माग पत्र पेश गर्ने कार्यक्रममा ब्यापक सहभागिता जनाउन लगानीकर्तालाई अपिल गरेका छन् ।
सयुक्त वक्तव्यमा भनिएको छ– ‘सरकारले गर्छु भनेका कामहरु तत्काल गरी लगानीकर्ताहरुलाई आस्वस्त पार्न माग गर्दै लगानीकर्ताहरुको तर्फबाट तिलक कोइरालाको संयोजकत्वमा गठन भएको पूँजी बजार सुधार संघर्ष समितिले प्रस्तुत गरेको १९ बुँदे माग हामी सबै लगानीकर्ता संघसंस्थाहरुको साझा माग भएको स्पष्ट गर्छौं र ती मागहरु अबिलम्ब पुरा गराउन घोषित संघर्षका कार्यक्रममा सक्रियतापुर्वक सहभागी हुन सम्पूर्ण लगानीकर्ता र पूँजी बजारका सरोकारवालाहरुमा हार्दिक आब्हान गर्दछौं ।’
बक्तव्यमा संघर्ष समितिले जेठ ३० गते राखेको सबै जिल्ला प्रशासन कार्यालयहरुमा प्रदर्शन र माग पत्र पेश गर्ने कार्यक्रममा ब्यापक सहभागिता जनाउन र जेठ ३१ गते काठमाडौमा हुने बिशेष कार्यक्रमलाई प्रभावकारी बनाउन सम्पूर्ण लगानीकर्ताहरुमा अपील गरिएको छ । संघर्ष समितिले यसपटक स्वतन्त्र पूँजी बजार सुधार संघसँग बार्ता हुँदा आन्दोलनले ठोस उपलब्धि हासिल नगरेसम्म मैदान नछाड्ने प्रतिबद्धता ब्यक्त गरेको छ । बिगत जस्तै नियमनकारी निकायले अन्दोलनकारि माथी प्रतिशोध साँधेमा त्यसको एकताबद्ध प्रतिबाद गर्ने चेतावनीसमेत दिएको छ ।
साझा बक्तव्यमा सेयर धितो कर्जा लिएकाहरुलाई मार्जिन कल गरी बैंक आफैंले लगानीकर्ताको सेयर एकतर्फी रुपमा बिक्री गर्ने कार्य रोक्न सम्बन्धित बैंक र ब्रोकरहरुलाई आग्रह गरिएको छ । एकतर्फी रुपमा लगानीकर्तालाई क्षति हुने गरी सेयर बिक्री भएमा कानूनी र अन्य उपचारका लागि लगानीकर्ताका संघसंस्थाहरु एकताबद्ध रुपमा सक्रिय हुने चेतावनी पनि दिइएको छ ।
लगानीकार्ताहरुले १९ बुँदे माग तत्काल कार्यान्वयन नगरेमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने प्रष्ट पारेका छन् ।
अम्बिकाप्रसाद पौडेल तिलक कोइराला
अध्यक्ष, पूँजी बजार फोरम,र्नेवा महासंघ संयोजक, पूँजी बजार सुधार संघर्ष समिति
तुल्सीराम ढकाल उत्तम अर्याल
अध्यक्ष, नेपाल ईन्भेष्टर्स फोरम अध्यक्ष, सेयर लगानीकर्ता संघ नेपाल
प्रकाश रजौरे रोहन कार्की
महासचिव, नेपाल धितोपत्र लगानीकर्ता संघ अध्यक्ष नेपाल स्वतन्त्र पूँजी बजार संघ
राधा पोख्रेल हरि ढकाल
अध्यक्ष, नेपाल पूँजी बजार लगानीकर्ता संघ अध्यक्ष, सेयर लगानीकर्ता दबाब समूह
सुशील लुनिया सुदर्शन पाठक
अध्यक्ष, स्वतन्त्र पूँजी बजार सुधार संघ अध्यक्ष, लगानीकर्ता हित संरक्षण मन्च