नेपाली सांगीतिक बजारमा आफ्नो छुट्टै पहिचान कायम गरेका गायक शिशिर योगीले भक्ति सङ्गीतमा पनि कदम बढाएका छन् । राष्ट्रप्रेम, जीवनदर्शन र करुण रसका मर्मभेदी गीत गाउँदै आएका योगीले भक्तिधारा अन्तर्गत पनि वैदिक मन्त्र गायनमा आफ्नो ओजस्वी स्वरको जादु पस्किएका छन् ।
प्रायः भारतीय कलाकारका स्वरमा भजन र मन्त्र सुन्न अभ्यस्त नेपाली स्रोता दर्शकलाई योगीको स्वरले नेपालीपनको मिठास दिने छ । भारतमा भक्तिसङ्गीतको विधा निकै फराकिलो छ । त्यहाँ भक्ति सङ्गीत मूलधारको सङ्गीत जस्तै उर्वर छ । हाम्रोमा भने कर्मकाण्डी र कामचलाउ जस्तो मात्र बनेको भक्ति सङगीतमा योगीको प्रवेशले यसका पारखीलाई केही राहत दिने निश्चित छ ।
भक्तिसङ्गीतको यस चरणमा गणेश मन्त्र, गायत्री मन्त्र, शनि मन्त्र र शनिको बीज मन्त्र गरी चारओटा तयार भएका छन् । उच्चकोटिको सङ्गीत, खारिएको स्वर र श्रुतिमधुर शब्दले स्रोतालाई आनन्दको सागरमा डुबाउँछन् । योगी यी सबै मन्त्रमा एक किसिमको जादू भर्न सफल भएका छन् । गणेश मन्त्रमा मौलिक सङ्गीतको स्वरूप छ । हुन त हामीले ‘ॐ गं गणपतेय नमो नमः लाई भारतीय कलाकारको आवाजमा धेरै पल्ट सुनिसकेका छौं । योगीले यसमा हृदयको आवाज निकालेर नेपाली मिठास भरेर गाउने कोसिस गरी हृदयस्पर्शी गायन प्रदर्शन गरेका छन् । करुणरसको प्रयोगले यसमा थप स्वाद दिएको छ ।
‘निलांजन समाभासम्‘’ बोलको शनि मन्त्रमा भक्ति र करुण सरको संयोजन भएको छ । शनिको बीज मन्त्रमा भने भक्ति, करुण र वीर रसको त्रिवेणी पाइन्छ । साथै उनले गायत्री मन्त्रलाई पनि निकै मिहिनेत गरेर सुललित आवजमा पस्किएका छन् । सबै मन्त्रमा योगीले सङ्गीत भरेका छन् भने स्वरमा सलिना बिक र उनकै छोरी श्रुति योगीले साथ दिएका छन् । यी मन्त्रमा सङ्गीत संयोजनमा पनि बढी मिहिनेत गरेको देखिन्छ । नोर्बु शेर्पाले सबै मन्त्रमा सङ्गीत संयोजन गर्नुरेका छन् ।
प्रकाश मिश्र ध्वनि सम्पादन, वीरेन्द्र भाट ‘विपिन’को दृश्य सम्पादन रहेको गीतमा अजय कार्कीको रेकर्डिङ छ । यी मन्त्रहरू शिशिर योगीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।