रवि लामीछाने २०३१ साल भदौ २० गते भक्तपुरको नगरकोटमा जन्मिए । नगरकोटमा जन्मिए पनि उनको बाल्यकाल काठमाडौंको चाबहीलमा बित्यो । उनले एस.एल.सी सम्मको अध्ययन भृकुटी मेमोरीयल स्कुल र बिजय मेमोरीयल स्कुलबाट गरेका हुन् । पढाईमा उनी अब्बल नै थिए । ६६.३ प्रतिशत अंक ल्याएर उनले एसएलसी पास गरेका हुन् ।
पढाई राम्रो हुनेले पत्रकारिता पढ्दा मानिसहरु अचम्म मान्थे । उनका अभिभावकले पनि छोरोले पत्रकारितामा उच्च शिक्षा हाँसिल गर्ला भन्ने सोचेका थिएनन् । परिवारको मनसाय रबिले पत्रकारिताको सट्टा विज्ञान विषय रोजे हुन्थ्यो भन्ने थियो । तर रबिलाई पत्रकारिता र संचार कर्मले चुम्बकले फलाम ताने जसरी तानीरहेको थियो । त्यसैले उनले पत्रकारिता अध्ययन गर्ने निधो गरे । उनको निर्णयमा परिवार पटक्कै खुशी थिएनन् ।
तै पनि आफ्नो सोच र योजना अनुसार उनी पत्रकारिता पढ्न रत्नराज्य लक्ष्मी क्याम्पसमा भर्ना भए । पढ्दै गर्दा उनको संचारकर्म इमेज एफएमबाट सुरु भयो । उनले इमेज एफएममा गुडमर्नीङ काठमाण्डु र साँझपख जस्ता कार्यक्रमहरु चलाउँथे । पछिल्लो समय सामाजिक सिरियस विषयलाई मिडियामा उठाउँदै आएका रबि त्यो समय धेरैजसो मनोरञ्जनात्मक कार्यक्रमहरु गर्थे । यहाँको चलन उनी प्रस्तोताको रुपमा देखिएको पहिलो टेलिभिजन कार्यक्रम हो । जुन नेपाल टेलिभिजनबाट प्रसाण हुन्थ्यो । यो कार्यक्रम अलि बढी हाँस्यब्यंग्य र मनोरञ्जनमा केन्द्रित थियो ।
सिधा बोल्ने बानी उनको सानै देखिको हो । यद्यपी उनको संचारकर्मको लोकप्रियता भने अमेरिका पुगेर फर्किएपछि बढेको हो । रवि जन्मेदेखि सन् २००७ सम्म नेपाली नागरिक थिए । त्यसपछि उनी अमेरिकी नागरिक बने । सन् २००७ देखि सन् २०१८ सम्म उनी अमेरिकी नागरिक रहे । सुनौलो सपना बोकेर अमेरिका गएका रबि १२ वर्षमा खोलो पनि फर्कन्छ भने जसरी ११ वर्षमै स्वदेश फर्किए ।
रेडीयो र टेलीभिजनसँगको निकट सम्बन्ध हुँदै गर्दा उनले विभीन्न देशहरु घुम्ने मौका पाईसकेका थिए । उनलाई बिदेशी हावापानीले पनि लोभ्याइसकेको थियो । उनलाई ब्रोडकास्ट जर्नालिजम पढ्ने रहर थियो जसको कारण रवि लामीछाने २०५६ सालमा अमेरीका गए । सुरुमा उनी अमेरीका भिजीट भिसामा गएका थिए ।
तर त्यसबेला त्यहाँको कानुनले भिजीट भिसामा गएका मानिसलाई पढ्न दिदैनथ्यो । जसका कारण उनको उच्च शिक्षा हासील गर्ने रहर केबल सपनामा मात्रै सिमीत बन्यो । नेपालमा एक सफल सञ्चारकर्मीको परिचय बनाइसकेका उनी अमेरिकामा रहदा एक रेस्टुरेन्टमा म्यानेजरको रुपमा रहेर काम गर्थे । काम गर्न थालेपछि उनले आफ्नो पत्नी इशालाई पनि अमेरीका लगे ।
उनी नेपाल आएपछि आफ्नी पत्नि इशा संगको पच्चिस वर्षको सम्बन्ध उनले कानुनी रुपमा २०७५ सालमा बिच्छेद गरे । रबी र इशाका दुई छोरी छन् । उनीहरु अहिले आमासँगै अमेरिकामा छन् । इशासँग सम्बन्ध बिच्छेद भएसँगै उनले चलचित्र बिकास बोर्डकी पूर्वअध्यक्ष निकीता पौडेलसँग कानुनी रुपमै बिबाह गरे । अहिले उनीहरु दुईजना सुखमय जीवन बिताइरहेका छन् ।
अमेरिकी नागरिक रहँदाकै बखत उनले सन् २०१३ को अप्रीलमा न्युज ट्वान्टी फोर टेलिभिजनमा निरन्तर ६० घण्टाको टेलिभिजन कार्यक्रम चलाए । उनको यो कार्यक्रमले विश्व रेकर्ड नै कायम गर्यो । अमेरिका गएर गुमनाम भएका रबि यो कार्यक्रमसँगै नेपाली दर्शकसँग परिचित बने । विश्वकै लामो अन्तरवार्ता लिएको चर्चा चलिरहँदा उनलाई बिर्सीसकेका पुराना दर्शकले पुनः सम्झिए भने नयाँ दर्शकको मन मुटुमा उनले कब्जा जमाए । यो लोकप्रियताले उनलाई अमेरिका बिर्स्याइदियो ।
नेपाल र नेपाली भूमीमा पाएको इज्जतको सामु अमेरिकाको सुखसयल उनलाई फिका लाग्यो । त्यसैले श्रीमति र सन्तान छाडेर उनी नेपालमै रमाउन थाले । नेपालमै बस्ने योजना बनाएपछि उनले आम जनतालाई प्रधानमन्त्रीसँग जोड्न सिधा कुरा प्रधानमन्त्रीसँग टेलिभिजन कार्यक्रम संचालन गर्न थाले । २०७३ साल वैशाख ११ गतेदेखि संचालन सुरु भएको कार्यक्रम लाइभ प्रसारण हुन्थ्यो ।
कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ नेपाल टेलिभिजन र एनटिभी समाचारबाट हरेक शनिबार राति पौने ९ बजे ४५ मिनेट प्रसारण हुन्थ्यो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छँदा सुरु भएको यो कार्यक्रम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएसँगै प्रस्तोता नै परिवर्तन गरियो । छापामार शैलीमा कार्यक्रम खोसिएको भन्दै रबिले त्यहि इखले सिधा कुरा जनतासँग कार्यक्रम संचालन गर्न थाले ।
नागरिकलाई प्रधानमन्त्रीसँग जोड्ने कार्यक्रम भन्दा जनताको पिरमर्का र समस्या सुनेर त्यसको समाधानमा सघाउने सिधा कुरा जनतासँग बढी लोकप्रिय बन्यो । जुन कार्यक्रमले एउटा मामुली संचारकर्मीलाई सेलिब्रेटी बनायो । आशा भरोसाको केन्द्रको रुपमा स्थापित गरायो । यहि मेसोमा उनले अमेरिकी नागरिकता त्यागे र पुन नेपाली नागरिक बने । उनको लोकप्रियताको ग्राफ बढ्दै गर्दा आत्महत्या दुरुत्सहानको मुद्धा लाग्यो । अमेरिकामै रहेकी जेठी श्रीमति इशासँगको विवाद सतहमा आयो । यस्ता विवादलाई चिर्दै रबि अघि बढी नै रहे।
उनी राम्रो गीतकार एवं लेखक पनि हुन् । तिम्रो आगमनले फेरी नयाँ बसन्त ल्यायो बोलको रामकृष्ण ढकालको स्वरमा रहेको गीत रबिले लेखेका हुन् । नवीन के भट्टराईको स्वर रहेको तिमीलाई मन पराउँछु भन्ने गीत पनि उनैले लेखेका हुन् । एउटा कार्यक्रम चलाएर छुट्टै पहिचान बनाएका रबिले नयाँ टेलिभिजन खोल्ने घोषणा गरे ।
ग्यालेक्सी फोर के नामक टिभी विभिन्न कार्यक्रमसहित अहिले राष्ट्रिय टेलिभिजनको रुपमा प्रसारण भइरहेको छ । सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रम रबिको ब्राण्ड अनि रबि उक्त कार्यक्रमको ब्राण्ड बनिसकेका थिए । नयाँ टेलिभिजन खोलेपछि कार्यक्रमको नामको विषयमा पनि विवाद भयो । उनले आफ्नो कार्यक्रमको नाम सिधा कुरा मात्रै राखेर ग्यालेक्सी फोरकेमा संचालन गर्न थाले । अहिले टेलिभिजनकै ब्राण्डको रुपमा यो कार्यक्रम संचालन भइरहेको छ । तर यो कार्यक्रमबाट पनि रबि बिदा भएका छन् ।
अब भने कुनै पनि टेलिभिजनमा उनी संचारकर्मी वा प्रस्तोताको रुपमा देखिने छैनन् । उनले संचारकर्मलाई थाति राखेर राजनीतिमा लागेको घोषणा गरेका छन् । अब आउने संसदीय निर्वाचनमा उम्मेद्वारी दिने योजनाका साथ उनले टेलिभिजनबाट बिदा लिएको घोषणा गरेका छन् । टेलिभिजनको पर्दामा चर्को स्वरमा चिच्याउँदा रबिलाई आमनागरिकको गतिलै साथ मिलेको थियो । अब संसद भवन हुँदै सरकारमा पुग्ने उनको यात्रामा जनताको कस्तो साथ रहन्छ त्यो भने हेर्न बाँकी नै छ ।