काठमाडौं – तीनदिने भ्रमणका क्रममा शनिवार नेपाल आएका शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम संयुक्त अरब इमिरेट्स (दुबई)का असली राजकुमार नभएको खुलेको छ ।
दुबईका राजकुमार नेपाल भ्रमणको क्रममा झापा आएको भन्दै चर्चा चलेको थियो । तर उनी असली राजकुमार नभई दुबईका अधिराजकुमार भएको खुलेको हो । उनी दुबईका शाही परिवारका टाढाका नातेदार भएको बताइएको छ ।
शनिवार श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेका दुबईका अधिराजकुमारले बिएण्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पताल, विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंलाई लौरो उपहार दिएका थिए ।
सो लौरो सुनको भएको भन्दै चर्चा पनि चलेको थियो । दिनभर सुनको लौरोको चर्चा निकै चल्यो । विमानस्थलबाट सुनको लौरो कसरी ल्याउन दिइयो भन्दै विभिन्न कुराहरु आए । तर खासका प्रसाइले पाएको लौरो सुनको नभएको खुलेको छ ।
उक्त लौरो सुन जस्तो देखिएको थियो । तर लौरो पहेँलो रङ्ग रहेको र त्यसमा सुनको जलप मात्र लगाइएको खुलेको छ । शनिवार दुबईका राजकुमारलाई स्वागत गर्न प्रसाईसहितको टोली विमानस्थल पुगेको थियो । दुबई आएका अधिराजकुमारले नेपालमा रहदा काठमाडौं र पोखराका विभिन्न स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।