काठमाडौँ -( सांसद लालबाबु पण्डितले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोग प्रस्तावमाथि हालसम्म पनि प्रक्रिया अगाडि नबढेकामा आपत्ति प्रकट गरेका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सो कुरा गरेका हुन् । उनले जबरामाथिको महाअभियोग प्रस्तावमाथि हालसम्म पनि प्रक्रिया किन अगाडि नबढेका भन्दै प्रश्न गरे ।
यस्तै बैठकमा सोही दलका सांसद जगतप्रसाद सुनारले बाढी, पहिराका कारण कास्कीका विभिन्न स्थानमा वितण्डा मच्चाएको विवरण प्रस्तुत गरे । सोही पार्टीकै सांसद गणेश पहाडीले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका विद्यार्थीमाथि यही असार ४ गते मिनभवन क्याम्पसमा आक्रमण गरिएको बताए ।
यस्तै सांसद सरिताकुमारी गिरीले न्यायको माग राख्दै आमरण अनशनमा बसेकी निहारिका राजपूतका सम्बन्धमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गरिन्। शान्तिमाया तामाङ पाख्रिनले स्थानीय निर्वाचनका क्रममा दोलखामा भएको घटनाका बारेमा जानकारी गराइन् ।