काठमाडौं – सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेलाई विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द मिश्रले शुभकामना व्यक्त गरेका छन् । मंगलबार राजधानीको सभागृहमा नयाँ पार्टी घोषणा गरेका लामिछानेलाई मिश्रले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका हुन् ।
आफूले आशा गरेको थोरै मान्छेमा रवि परेको भन्दै उनले सफलताका लागि ह्रिदयदेखि शुभकामना भनेका छन् । उनले लेखेका छन् – ‘प्रिय रवी,तिमी सानै हुँदादेखि चिनेकोले मैले ‘तिमी’ भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी। पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि ह्रिदयदेखि शुभकामना व्यक्त गर्दछु!’
लामिछानेले आजबाट औपचारिक राजनीतिक यात्राको सुरुवात गरेका छन् । उनले कुनै राजनीतिक दलसँग जोडिएर होइन आफ्नै नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेर राजनीतिक यात्राको सुरुवात गरेका छन् ।
आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै नयाँ पार्टीको नाम घोषणा गरेका हुन् । पार्टी घोषणा गर्नुअघि उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए । यो देशमा मान्छे रोएको आफूले जति कसैले पनि नदेखेको दावी गर्दै उनले भने, ‘प्रत्येक कार्यक्रममा दैनिक आएर रुनुहुन्थ्यो, आम जनताको भीड राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशकहाँ लागेन किनकि त्यहाँबाट केही लाग्दैन भन्ने जनतालाई थाहा थियो र थाहा छ ।’