नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तारमा अन्य बाणिज्य बैंकहरुलाई उछिनेको छ । नेपालको पहिलो बैंकको रुपमा स्थापित नेपाल बैंक निक्षेप संकलन र कर्जा प्रवाहमा सबैभन्दा अगाडि देखिएको हो ।
नेपालमा रहेका २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक पहिलो स्थानमा छ भने कर्जा विस्तार वृद्धिको आधारमा पनि नेपाल बैंक पहिलो स्थान कायम गरेको छ ।
राष्ट्र बैंकको रेकर्ड अनुसार गत जेष्ठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५.८५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३२.०५ प्रतिशतले वृद्धि भएको छ । २७ वटा वाणिज्य बैंकहरुमध्ये २१ वटा वाणिज्य बैंक मात्रै निक्षेप वृद्धि गर्न सफल भएका छन् । अन्य ६ वटा वाणिज्य बैंकहरुको निक्षेपमा भने गिरावट आएको छ । तर २७ वटै वाणिज्य बैंकहरुले कर्जा विस्तारमा वृद्धि गरेका छन् ।
हाल नेपाल बैंकको मुलुकभर २१७ शाखाहरु, १७९ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर रहेको छ । करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।