काठमाडौं – सरकारमा रहेका नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले ५ बुँदे सर्त अघि सारेका छन् । सरकारमा रहेका मन्त्रीहरु हेरफेर गर्ने तयारी भइरहदा मन्त्रीहरूले सरकारबाट बाहिरिन ५ बुँदे सर्त अघि सारेका हुन् ।
पार्टी अध्यक्ष माधव नेपालको निवास कोटेश्वरमा भएको छलफलमा पार्टीको निर्णय स्वीकार्य भएपनि पार्टीले सरकारमा पठाउँन लागेको मन्त्रीको विषयमा असहमती जनाए । उक्त छलफलमा एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरु स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ सहभागी रहेका थिए ।
उनीहरुले अध्यक्ष नेपाललाई नयाँ मन्त्री चयनको लागि पाँच बुँदे माग अघि सारेका हुन् । उनीहरुले संसदमा बजेट विचाराधीन हुँदा नै मन्त्री फेर्ने हल्ला गराएर पार्टीले अपरिपक्व निर्णय लिएको पनि बताएका छन् । छलफलका क्रममा अध्यक्ष माधबकुमार नेपाल र मन्त्रीहरूबीच चर्काचर्कीसमेत परेको थियो ।
बैठकमा मन्त्रीहरूले अध्यक्ष माधवकुमार नेपालसँग राखेका सर्तहरू यस्ता छन्
१. नयाँ मन्त्रीहरू समावेशी आधारमा छानिनुपर्ने
२. गैरसांसदलाई मन्त्री बनाउन नहुने
३. एकै जिल्लाका २ जना मन्त्री बनाउन नहुने
४. राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गर्न नपाइने
५. राष्ट्रियसभाबाट बजेट पारित हुँदासम्म पर्खने