काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ मन्त्रिहरुको आजै सपथ हुक्ने बताएका छन् । आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले सो कुरा गरेका हुन् । मन्त्रिपरिषद्को पुनर्गठन हुने भन्दै पार्टीको निर्णय लागु हुनेमा आफू आशा र विश्वास लिएको बताए ।
उनले भने – ‘मन्त्रिपरिषद्को पुनर्गठन हुनेछ । छिटोभन्दा छिटो हुनेछ । आशा गरौँ, आजै हुनेछ । हाम्रो पार्टीको निर्णय लागु हुनेछ भन्ने आशा र विश्वास गर्दछु’ उनले थपे ‘छिट्टै नयाँ मन्त्रीहरुको सपथ हुन्छ। आजै हुने पनि संभावना छ।’
पार्टीको निर्णय अक्षरस कार्यान्वयन हुनेमा आफू ढुक्क रहेको उनले बताए । उनले केही मन्त्रीको राजीनामा आफ्नो गोजीमा बोकेर हिडेको पनि बताए । मन्त्रीले पदबाट राजीनामा दिएको भन्दै यसबारे अन्य कुरा उनले खुलाएनन् ।
गएको जेठ २२ गतेको पार्टीको बैठकले नै मन्त्री फेरबदल गर्ने निर्णय गर्दै नयाँ मन्त्रीको नाम समेत प्रधानमन्त्री देउवालाई बुझाएको थियो । त्यसपछि लागतार गठबन्धनको बैठकमा अध्यक्ष नेपालले मन्त्री फेरबदलको निर्णय कार्यान्वन गर्न प्रधानमन्त्री देउवालाई दबाब दिदै आइरहेका छन् ।
बजेट स्वीकृतपछि मन्त्री हेरफेर गर्ने कुरा भएको थियो । तर बजेट स्वीकृतपछि पनि यो प्रक्रिया अघि नबढ्दा एकीकृत समाजवादीका नेताहरु असन्तुष्ट भइरहेका छन् । नेताहरुले आफ्नै पार्टीका अध्यक्ष नेपाललाई मन्त्री हेरफेरको लागि दबाब पनि दिइरहेका छन् ।