विदेशी कम्पनीलाई सुम्पिएको सम्झौता च्यातिनुपर्छः पूर्वसञ्चारमन्त्री बाँस्कोटा -Sutra News

विदेशी कम्पनीलाई सुम्पिएको सम्झौता च्यातिनुपर्छः पूर्वसञ्चारमन्त्री बाँस्कोटा 

आइतबार, १२ असार २०७९

आइतबार, १२ असार २०७९

पूर्व सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट विदेशी कम्पनीलाई सुम्पिनु खेदजन्य र गम्भिर आपत्ति भएको प्रतिक्रिया दिएका छन् ।



आइतबार संघीय प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेकपा एमालेका नेता बास्कोटाले क्यान र गठबन्धन सरकारमाथि ‘नेपाल टी २० लिग’ गर्न भारतीय  सेभेन थ्री स्पोर्ट्र्स कम्पनीलाई कमर्सियल सम्झौता दिएकोमा आपत्ति जनाएका हुन् ।

‘नेपालको एउटै खेल विश्व वरीयतामा अलि कति माथि छ भने, त्यो क्रिकेट नै हो । १४ एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त देशमध्य नेपाल पनि एक हो । तर, यस सरकारले नेपालको सम्पूर्ण खेल क्षेत्रलाई भारतको सेभेन थ्री स्पोर्ट्स प्रालि कम्पनीलाई सुम्पियो । क्रिकेट खेलको बन्ध्याकरण गर्यो । त्यो पनि आठ वर्षका लागि । हामी सबैलाई थाहा छ, खेलाडीहरु लिगहरुमा ‘हायर’ हुन सक्छन् । तर, यहाँ सम्पूर्ण खेल क्षेत्रमाथिको नियन्त्रण एउटा भारतीय कम्पनीलाई दिइएको छ’ बास्कोटाले भने ।

यस अघि क्यानले ११ वैशाखमा लिग हुने मेल मार्फत् जनाएको थियो । यसपछि क्यानले ४ जेठमा नक्साल स्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आधिकारीक घोषणा गरेको थियो । क्यानले प्रतियोगिता आधिकारीक घोषणासँगै नेपालमा चल्तिमा आएको फ्रेन्चाईज लिग गर्न नदिने बताएपछि एभरेष्ट प्रिमियर लिग संचालक आमिर अख्तरले पत्रकार सम्मेलन गर्दै क्यानको सो निर्णयको खण्डन र विरोध गरेका थिए ।

यसपछि क्यानले १० जेठमा भ्रामक समाचार अख्तरले सम्प्रेषण गरेको भन्दै ध्यानाकर्षण भएको विज्ञप्ती निकाल्यो । सोहि दिन बसेको क्यानको कार्यसमिति बैठकले नेपाल टी–२० लिग खेल्ने ६ टिम सहित तीन फ्रेन्चाइज लिगलाई क्षेत्रीय मान्यता दिने बताएको थियो ।

यस निर्णयसँगै कुनै समय क्यान निकट देखिएका आमिर अख्तर अहिले क्यानका सबैभन्दा ठुलो दुस्मनको रुपमा देखिएका छन् । सोहि प्रकण एकपटक संसदमा देखिएको हो ।

पूर्वमन्त्री बास्कोटाले सार्वजनिक खरिद ऐन मिचेर आर्थिक अनियमितता गरेको आरोप सरकारलाई लगाएका छन् ।

‘एउटा प्राइभेट कम्पनी जसलाई ८ वर्षको निम्ति सम्पूर्ण खेल क्षेत्र दिइएको छ । त्यो पनि सार्वजनिक खरिद ऐन मिचेर, विना प्रतिस्पर्धा प्राइभेट कम्पनीलाई दिइएको छ । यो खेद जन्य र गम्भिर आपत्तिको विषय छ । सम्झैताअनुसार भारतीय कानुन लाग्नेछ । जुन कुरा सम्झैताको २१ नम्बर बुँदामा प्रष्टसँग उल्लेख गरिएको छ । ४.२.२ अनुसार खेलाडी र खेल क्षेत्रको सम्पूर्ण ‘इन्टेलेक्च्युल प्रपर्टी राइट” पनि त्यही कम्पनीलाई दिइएको छ । यो खारेज हुनुपर्छ । खेलकुद मन्त्रलायले यसलाई खारेज गर्नुपर्छ ।”

बास्कोटाले यस्तो अवस्थामा खेल क्षेत्रलाई लैजाने हो भने खेलकुद मन्त्रालय र मन्त्रीको के काम भनेर प्रश्न गरेका छन् ।

‘यस्तो अवस्थामा खेल क्षेत्रलाई लौजाने हो भने खेलकुद मन्त्रालयको के काम छ ? मन्त्रीको के काम छ ? क्यानको के काम छ ? सरकारले क्यानलाई पैसा दिनुको के काम छ ?”

यस्तै उनले विदेशी कम्पनीलाई त्यसको सम्पूर्ण कानुनी अधिकार र प्रपर्टी राइट दिने कुरा अत्यन्तै घातक भएको र सम्झौता च्यातेर नयाँ सम्झौता गर्नुपर्ने साथै क्यान अध्यक्ष चन्दले क्रिकेट क्षेत्रलाई खत्तम बनाएको आरोप लगाए ।

‘हाम्रो सम्पूर्ण आन्तिरिक खेलहरुलाई बन्धक बनाउने विदेशको एउटा कम्पनीलाई त्यसको सम्पूर्ण कानुनी अधिकार र ‘प्रपर्टी राइट’ दिने कुरा अत्यन्तै घातक छ । व्यापक आर्थिक अनियमितता भएका छन् । सरकारलाई कानुन लाग्दैन ? सरकारले कानुन मिच्न पाउँछ ? परामादेशी भएपछि की कानुन पनि च्यातेको हो ? विधिको शासन खै ? सुशासन खै ? क्यानको चतुरबहादुर चन्दले यसरी चतु¥याई गरेर देशको क्रिकेट क्षेत्रलाई खत्तम गर्नु भएको छ । यो चानचुने विषय होइन । सरकारको ध्यानकर्षण गछौं । यसरी खेल क्षेत्रलाई बर्बाद बनाउने कुरा हुन सक्दैन । यो सम्झैता च्यातिनुपर्छ । पूर्नविचार गर्नुपर्छ । गर्ने भए नयाँ सम्झैता गर्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट