सुधारका योजनालाई निरन्तरता दिन्छु – नवनियुक्त श्रममन्त्री कुँवर-Sutra News

सुधारका योजनालाई निरन्तरता दिन्छु – नवनियुक्त श्रममन्त्री कुँवर

सोमबार, १३ असार २०७९

सोमबार, १३ असार २०७९

काठमाडौँ – नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आगामी आवका लागि मन्त्रालयका नीति, कार्यक्रम र बजेट कार्यान्वय गर्ने कार्ययोजना स्वीकृत गरेका छन् ।



सिंहदरबारस्थित मन्त्रालयमा आज पदबहालीपछि पहिलो निर्णयका रुपमा उहाँले आर्थिक वर्ष २०७९÷८० का लागि निर्धारित लक्ष्य हासिल गर्न अख्तियार गरिएका कार्यक्रमका कार्ययोजना स्वीकृत गरेको प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए।

नवनियुक्त मन्त्री कुँवरले यसअघिको नेतृत्वले थालेका सुधारका योजनालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । अछाम चौरपाटी गाउँपालिका–४ (साविक पायल गाविस–५) मा २०२३ साल भदौ ६ गते जन्मनुभएका नवनियुक्त श्रममन्त्री कुँवर नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्य, सङ्गठन विभागको सदस्यका साथै सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष छन् ।

उनी यसअघि राष्ट्रियसभाको सदस्यका रुपमा संसद्मा क्रियाशील भएका थिए । उनको चारवर्षे कार्यकाल गत फागुनमा सकिएको थियो । त्यसअघि उनी एकीकृत समाजवादीको राष्ट्रियसभातर्फका प्रमुख सचेतकसमेत थिए । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी अछाम क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट