काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्ने गठबन्धनले कुनै पनि बेला एसपीपी ब्यूँताउन सक्ने बताएका छन् । मंगलबार मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओली सो कुरा गरेका हुन् ।
उनले भने – ‘खतरा छँदैछ यो गठबन्धनका मान्छेहरू एमसीसीमा हात उठाएर पास गरेका हुन् । पानीको भेल शान्त हुनेबित्तिकै जसरी माझीले जाल लिएर माछा मार्न जान्छ, भेल शान्त हुनेबित्तिकै अर्को जाल लिएर उनीहरू एसपीपीमा सामेल हुनेछन् ।’
एसपीपी सन् २०१९ सालमा स्थगित गरिए पनि सत्ता गठबन्धनले अर्को घातक ड्राफ्ट ल्याएको उनले बताए । अहिले एसपीपीका सम्बन्धमा पनि अमेरिकासँग सम्झौता गर्न सकारात्मक भइसकेको अवस्थामा जनताको दबाबमा सरकार पछि हटेको उनको भनाई छ ।
अर्को प्रशंगमा ओलीले अभियन्ताहरु धेरै भए पनि समाजलाई सकारात्मक प्रतिफल दिन नसकेको बताए । उनले भने, ‘देश विदेशका खर्चबाट अभियन्ता भएकाहरु धेरै भेटिन्छन् तर प्रतिफल के निस्कियो, कतिले जीवनस्तरमा परिवर्तन ल्याए भन्ने त्यति बाहिर आएको छैन ।’