रुसी क्षेप्यास्त्र आक्रमणमा परी १८ जनाको मृत्यु, उद्धार कार्य जारी-Sutra News

रुसी क्षेप्यास्त्र आक्रमणमा परी १८ जनाको मृत्यु, उद्धार कार्य जारी

मंगलबार, १४ असार २०७९

मंगलबार, १४ असार २०७९

क्रेमेन्चुक – रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।देशको क्रेमेन्चुक औद्योगिक क्षेत्रमा सोमबार रुसले ख —२२ (रसियन : एक्स —२२) नामक क्षेप्यास्त्र प्रहार गरेको थियो ।



आक्रमणमा परेका अरु ३६ जना अझै पनि सम्पर्क विहीन रहेका छन् । उनीहरूको खोजी कार्य भइरहेको छ ।“घटनामा परी घाइते भएका मध्ये २५ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गराइएको छ,” एक सरकारी अधिकारीले भने ।

स्थानीय अधिकारीहरूले आक्रमणका कारण ठूलो मात्रामा भौतिक संरचनामा समेत क्षति पुगेको जानकारी दिएका छन् । आक्रमण भएका बेला झण्डै एक हजार मानिस घटनास्थलमा रहेका थिए । घटनामा परी हताहती भएकाहरूको यकिन भएको छैन ।

जर्मनीमा जी ७ शिखर सम्मेलन चलिरहेको र त्यसको मुख्य एजेण्डा युक्रेनमाथि भएको आक्रमणलाई बनाइरहेका बेला रुसले अर्को निर्मम आक्रमण गरेको हो । गत फेब्रुअरी २४ देखि सुरु भएको आक्रमण अहिलेसम्म पनि जारी छ । रुस—युक्रेन युद्ध अन्त्यका लागि सुरुमा दुई पक्षीय वार्ता भएपनि अहिले वार्ता पनि रोकिएको छ ।

वाह्य तथा अन्तर्राष्ट्रिय दवाव भइरहेपनि रुस र युक्रेन दुवै आ आफ्नो अडानमा रहेकाले युद्ध तत्काल रोकिने कुनै संकेत देखिएको छैन । निरन्तरको युद्धका कारण युद्धमा प्रत्यक्ष संलग्न दुवै देशसँगै विश्वलाई नै धेरै क्षति भएको छ । मानवीय, राजनीतिक र आर्थिक असर बढी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट